जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते समर्थन फिर्ता लिएपछि नयाँ सत्ता समीकरणको प्रयास सुरु भएको हो ।

जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच सरकार गठनका विषयमा संवाद भइरहेको छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि जसपा र जनमतका नेताहरूसँग छलफल भइरहेको बताउँदै चाडपर्वपछि यसलाई निष्कर्षमा पुर्‍याउने जानकारी दिनुभएको छ ।

नयाँ सरकारको नेतृत्वमा तीनवटै दलले दाबी गरिरहेका छन् । प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपाले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान राख्दै आएको छ । नेतृत्वको विषयमा तीन दलका अध्यक्षबीच केन्द्रबाटै सहमति जुटाउने समझदारी भएको जसपा संसदीय दलका नेताले बताएका छन् ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । उपलब्ध विवरणअनुसार कांग्रेसका २२, एमालेका २३, जसपाका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमतका १२ सदस्य छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।

Leave a Reply