सिमरा,बारा प्रहरीले मिनी ट्रकबाट दुई सय ३६ किलो सात सय ५० ग्राम लागु औषध गाँजासहित एक जनालाई सोमवार नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय बाराको टोलीले बा २ ख ९५६९ नं. को मिनि ट्रकमा लोड गरिएको गाँजासहित ट्रकका चालकलाई नियन्त्रणमा लिएको हो।प्रहरीले मिनि ट्रकका चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० का ३८ वर्षीय रमेश रुम्बालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराका प्रहरी बरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका– २१ अमलेखगञ्जस्थित ईलाका प्रहरी कार्यालयअगाडि चेक पोईन्टमा सो ट्रकलाई जाँच गरेको हो।

मकवानपुरबाट वीरगञ्जतर्फ आउदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले ढाकी लुकाई छिपाई राखेको २८ पोका लागु औषध गाँजा बरामद गरिएको हो।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको कमाण्डमा रहेको टोलिले यसमा थप अनुसन्धान गरिरहेको बाराका प्रवक्ता पण्डितले जानकारी दिनुभयो ।

Leave a Reply