निजगढ,
निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको अभिभावक भेलाविद्यालय व्यवस्थापन समिति गठन गर्न विफल बनेपछि स्थागित भएको छ । विद्यालय व्यवस्थापन समिति गठनको लागि बिहीवार आयोजना गरिएको अभिभावक भेला समिति गठन गर्न विफल बनेपछि आगामी आइतवारसम्मको लागि स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले जानकारी दिनुभएको छ ।
व्यवस्थापन समितिमा अभिभावकहरुबाट चयन गरिने २ जना महिलासहित ४ जना सदस्य पदको लागि ४५ जनाले आकांक्षा देखाएपछि सहमति हुन नसकेको हो । २ जना महिला सदस्यको लागि भने सरिता राई र प्रमिला पराजुली नेपालको नाममा भेलामा सहमति बनेको थियो । तर पुरुष आकांक्षीहरुबीच सहमति हुन सकेको थिएन ।
सबै आकांक्षहरुलाई एकै ठाउँमा राखेर सहमति कायम गर्ने प्रयास गरिएको भए पनि अधिकांशले आफ्नो दाबी नछोडेपछि समिति गठन हुन नसकेको अभिभावक थानेश्वर सापकोटाले जानकारी दिनुभयो । सर्वसहमतिमा समिति गठन गर्ने उद्देश्यले भेला स्थगित गरिएको उहाँले बताउनुभयो ।
४५ जना आकांक्षीबीच फेरि छलफल गरेर निर्णय गर्ने गरी आइतवार दिउसो १ बजेको लागि अर्को भेला आयोजना गरिने विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समिति गठनको लागि यसअघि बोलाइएको भेलापनि कुनै निर्णयमा पुग्न नसकेपछि स्थगित हुदै आएको थियो । स्थानीय राजनीतिक दल र अभिभावकहरुबीच सहमति हुन नसक्दा २ वर्षदेखि व्यवस्थापन समिति रिक्त रहदै आएको छ ।
व्यवस्थापन समितिको अभावमा विद्यालयको भौतिक निर्माण लगायत अन्य कार्यक्रमहरु प्रभावित हुदै आएको छ ।