नेपालमा खासै कसैले कल्पना नगरेको परिवर्तन भएको करिब करिब सातातिर अगाडि बढ्दै जाँदा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेपनि सरकारले पूर्णता पाउने विषयमा भने अन्यौलता कायम देखिएको छ ।
सरकारको नेतृत्व जेनजीहरुकै समर्थनमा सुशिला कार्कीले नेतृत्व लिए पनि सरकार गठन भने ढिला हुने छाटकाँट देखिएको छ । जेनजीहरुले देशमा तीव्र विकासको चाहना गरेका छन् ।
जसरी आन्दोलन भयो, त्यसरी नै विकास र परिवर्तन चाहेका छन् र देशले पनि यही परिवर्तन चाहेको छ । तर, सरकारले पूर्णता पाउने विषयमा नै यसरी अन्यौलता कायम भयो भने फेरि यो सरकार पनि असफल हुनेछ ।
मन्त्री छान्ने विधि जे छ, जेनजीको त्यसैको आधारमा छिटो सरकार बनाउनु पर्दछ । देशमा ठूलो पर्व आउदैछ । दशैंको मुखमा देशको वातावरण सहज होस् भन्ने आम नागरिकहरुले चाहना राख्छन् । राखिरहेका पनि छन् ।
देशमा धेरै कुरा बिग्रिएको छ । अब यसलाई तत्काल लयमा फर्काउन आवश्यक छ । यसका लागि यो सरकारले अग्रसता लिनुपर्दछ र तीव्र गतिमा काम हुनु पर्दछ । अब यो वा त्यो भन्ने छुट हुँदैन ।
उमेरले सात दशक काटेको प्रधानमन्त्री देशले पाए पनि उहाँले व्यवहारमा भने युवापन देखाउनु पर्नेछ । समयको माग नै यस्तै छ । बरु यसका लागि के गर्दा ठीक हुन्छ त्यही गर्नु पर्दछ । बिना तलब भत्ताको एक संयन्त्र बनाएर काम गर्दा गतिशिलता देशमा हुनसक्छ । यो विषयमा प्रधानमन्त्री र जेनजी अगुवाहरुले तत्काल कदम चाल्न आवश्यक छ ।
















