निजगढ,निजगढमा कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमित भएका १२ जनाले कोरोना जितेका छन् । दोस्रो लहरमा ५६ जना संक्रमित भएका थिए । अहिले ४४ जना संक्रिय संक्रमित भएको निजगढ नगरपालिकाको स्वास्थ्य शाखा संयोजक रमेश लामाले बताउनुभयो । गत आइतबार ५० जनामा गरिएको पिसीआर परीक्षणमा ३८ जनामा कोरोना पोजेटिभ रिर्पोट आएको थियो । पहिलो चरणमा ३५ मध्ये २८ जना र दोस्रो चरणमा १५ मध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको थियो । निजगढमा हाल संक्रिय संक्रमित संख्या ४४ जना रहेको छ । त्यसमा अधिकांश घरमै बसेर उपचार गराईरहेका छन् । निजगढ नगरपालिकाले मंगलबारदेखि सञ्चालनमा ल्याइएको आइसोलेशन कक्षमा तीन जना संक्रमितले उपचार लिएका छन् । तीन जनामध्ये दुई जना संक्रमण मुक्त भएर घर फर्किएको र एक जनाको उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र निजगढका डा. प्रिन्स तिवारीले जानकारी दिनुभयो । त्यसैगरि कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण भएका दुई जनाको उपचार भइरहेको डा. तिवारीले जनाकारी दिनुभयो । १५ शैय्याको आइसोलेशन कक्षमा अक्सिजनको समेत व्यवस्था गरिएको छ । आइसोलेशन सञ्चालनमा आएपछि इमजर्नेन्सी सेवा लिने तीन जना पुगेका छन् । अक्सिजनको मात्रा कम भएकालाई आइसोलेशनमा राखेर उपचार गराइने र अक्सिजनको मात्रा ठिक भए होम आईसुलेसनमै बस्ने पठाइने गरेको डा. तिवारीले बताएउनुभयो ।
निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी भन्दा नगरमा संक्रमितको संख्या निक्कै बढी भएको अनुमान गरिएको छ । संक्रमित र परीक्षण गर्ने अस्पतालले पनि नगरपालिकालाई यसबारे कुनै जानकारी नदिएपछि संख्या एकिन हुन नसकेको हो । यसअघि परीक्षण गराएको अस्पतालले पालिकालाई जानकारी गराउने गरेकोमा हाल सो कार्य बन्द गरेको छ । अस्पतालले संक्रमित बारे सम्बन्धित तहलाई जानकारी नदिदा वास्तविक तथ्याङक आउन नसकेको स्वास्थ्य शाखका कर्मचारीहरुले नै स्वीकार गरेका छन । यसैबीच कतिपय कोरोना संक्रमण पुष्टि भएका व्यक्ति पनि गाउँघरमा हिडडुल गर्ने गरेको गुनासो समेत सुनिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको बारेमा कन्ट्रयाक ट्रेसिङ्ग गरिने गरेकोमा अहिले त्यसबारे नगरपालिकाले व्यवस्थापन गरेको छैन् । समुदाय स्तरमा संक्रमण फैलिएकाले कन्ट्रयाक ट्रेसिङ्ग गर्न नसकिएको निजगढ नगरपालिकाको स्वास्थ्य शाखा संयोजक रमेश लामाले बताउनुभयो ।
यसैबीच नगरपालिकाले आगामी जेठ २ गते कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरुको पिसीआर परीक्षण गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले शुक्रबार सूचना प्रकाशित गरेर पिसिआर परीक्षण बारे जानकारी गराउनुभएको हो ।