आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकाका अन्र्तगतका विभिन्न शाखाका कर्मचारी तथा शिक्षकहरुले नगरपालिकामा तालाबन्दी गरेका छन् ।लामो समयदेखि तलब नपाएको भन्दै उनीहरुले मंगलवार नगरपालिकाको मुलगेटमै ताला लगाएर धर्नामा बसेका हुन् । कर्मचारीहरुको तालबन्दी र धर्नाका कारण कार्यालयको काम ठप्प बनेको छ ।चाडपर्व मुखमा समेत आफ्नो तलब नपाएको उनीहरुको गुनासो छ । नगर शिक्षक संघका अध्यक्ष उमा शंकरप्रसाद यादवको अगुवाईमा गएका शिक्षक तथा कर्मचारीको टोलीले तालाबन्दी गरेका हुन् । तलबको लागि लिखित तथा मौखिक रुपले नै बारम्बार माग गर्दा कुनै सुनुवाई नभएकाले बाध्य भएर यस्तो निर्णय लिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।नगरपालिकाको मुलगेटमा तालाबन्दी पश्चात सहभागीहरुले कोण सभाको आयोजना गरेका थिए ।गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको पनि तलब नपाएपछि नगरपालिका मताहातका शिक्षक तथा कर्मचारीहरु आन्दोलित बनेका हुन । यसअघि शिक्षकहरुले आफ्नो तलबको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारा लगायत विभिन्न निकायमा ज्ञापन पत्र बुझाएका थिए ।


















