निजगढ, – नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बाराको निजगढ नगरपालिकामा शान्ति सुरक्षा कायम गर्न सर्वपक्षीय प्रतिबद्धता जनाइएको छ ।
निजगढ नगरपालिकामा क्रियाशील राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षाकर्मी, व्यवसायी तथा सरोकारवालाहरुले आज संयुक्त विज्ञप्ति निकालेर चाडबाड लक्षित शान्ति सुरक्षा कायम गर्न ७ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन ।
नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा बिहीबार नगरपालिका कार्यालयमा बसेको सर्वपक्षीय बैठकले चाडपर्वका समयमा हुन सक्ने सम्भावित दुर्घटना, अवाञ्छित गतिविधि तथा दुर्घटना न्यूनीकरण गर्न सावधानी अपनाउन नगरवासीमा सर्वपक्षीय आग्रह र प्रतिबद्धता जाहेर गर्ने भनी गरिएको निर्णयको आधारमा सरोकारवालाहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन ।
प्रतिबद्धता पत्रमा चाडपर्वको समयमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाइएको छ ।
प्रतिबद्धताअनुसार प्रहरीले नियमित गस्ती तथा चेकजाँचलाई थप सुदृढ बनाउँदै आवश्यकताअनुसार अतिरिक्त समयमा समेत गस्ती परिचालन गरिने छ । सार्वजनिक सडकमा अवरोध हुने गरी राखिएका निर्माण सामग्री हटाउने तथा व्यवस्थित गर्ने, लागू पदार्थको प्रयोग र कारोबार नियन्त्रणमा प्रहरीलाई सहयोग गर्ने पनि भनिएको छ ।
त्यस्तै, व्यवसायीहरूले शान्ति सुरक्षालाई ध्यानमा राखेर व्यवसाय सञ्चालन गर्ने र कुनै अवरोध वा असामान्य गतिविधि देखिएमा तत्काल सुरक्षाकर्मीलाई जानकारी गराउने जनाइएको छ ।
त्यसैगरी पत्रमा मोटरसाइकल, स्कुटरलगायतका सवारीसाधन प्रयोग गर्दा ट्राफिक नियम पूर्ण रूपमा पालना गरी दुर्घटनाको जोखिमबाट जोगिन तथा सभ्य नागरिकको परिचय दिन पनि नगरवासीसंग आग्रह गरिएको छ ।
सार्वजनिक स्थानमा जडान गरिएका सीसीटीभी क्यामेराको अवस्था तथा सञ्चालनबारे जानकारी गराउने, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजकले स्वयंसेवक परिचालन गरी कार्यक्रम व्यवस्थित बनाउने र ध्वनि प्रदूषक उपकरणको प्रयोग नगर्ने वा नियन्त्रण गर्ने विषयलाई पनि प्रतिबद्धतामा समेटिएको छ ।
निजगढवासीको सुख, स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आपसी सद्भाव, सहयोग र भाइचारालाई अभिवृद्धि गर्न नगरवासीमा आग्रह पनि गरिएको छ ।
यसैबीच सार्वजनिक सडक तथा सडकपेटीमा निर्माण सामग्री राख्दा आवागमनमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै निजगढ नगरपालिकाले त्यस्ता सामग्री हटाउन नगरवासीलाई आग्रह गरेको छ ।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले आज एउटा सूचना जारी गर्दै सडक, सडकपेटी तथा सार्वजनिक आवागमनका क्षेत्रमा राखिएका इँटा, बालुवा, गिट्टी, ढुङ्गा, माटो, छड, काठलगायतका निर्माण सामग्री हटाउन आग्रह गर्नुभएको हो ।
नगरपालिकाका अनुसार विभिन्न स्थानमा निर्माण सामग्री राख्ने तथा अव्यवस्थित रूपमा अटो पार्किङ गर्ने प्रवृत्तिले सार्वजनिक सडकमा अवरोध सिर्जना भएको छ । यसबाट सवारीसाधन तथा पैदल यात्रुको आवागमनमा कठिनाइ हुनुका साथै सडक दुर्घटनाको जोखिमसमेत बढेको सूचनामा उल्लेख छ ।
नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण नगरवासी, घरधनी, निर्माण व्यवसायी तथा सम्बन्धित सरोकारवालालाई सडक र सडकपेटीमा अवरोध पुग्ने गरी राखिएका निर्माण सामग्रीलगायत अन्य सामग्री यथाशीघ्र हटाई सुरक्षित तथा व्यवस्थित स्थानमा राख्न अनुरोध गरेको छ ।
त्यस्तै, अव्यवस्थित रूपमा अटो पार्किङ गरिएका अटोहरू तोकिएको स्थानमा मात्र पार्किङ गर्न नगरपालिकाले आग्रह गरेको छ ।
सार्वजनिक सडकलाई सुरक्षित, व्यवस्थित तथा अवरोधरहित बनाउन सबै नगरवासीको सहयोग आवश्यक रहेको जनाउँदै नगरपालिकाले सडकमा अवरोध हुने गतिविधि नगर्नसमेत अनुरोध गरेको हो ।
















