वीरगन्ज,
मुलुकको प्रमुख स्थल नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय चालु आर्थिक वर्षको पहिलो महिनामा राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल भएको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमै वीरगन्ज भन्सारले लक्ष्यभन्दा २ अर्ब २१ करोड ८ लाख ३२ हजार रुपैया कम राजश्व संकलन गर्न सकेको हो । वीरगन्ज भन्सारले लक्ष्यको ८५.५ प्रतिशत मात्र राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो ।
भन्सार विभागले साउनमा वीरगन्ज भन्सारलाई १५ अर्ब २० करोड ७ लाख ५५ हजार रुपैया राजश्व संकलनको लक्ष्य दिएको थियो । तर उसले लक्ष्य भन्दा १४.५ प्रतिशत कम अर्थात १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार रुपैया मात्र राजश्व संकलन गरेको हो ।साउन महिनामा वीरगन्ज भन्सारले भन्सार महशुलतर्फ लक्ष्यको ६७ प्रतिशत, अन्तशुल्कतर्फ लक्ष्यको ८९ प्रतिशत, मुल्य अभिवृद्धि कर तर्फ लक्ष्यको १ सय १२ प्रतिशत र अग्रिम आयकरतर्फ लक्ष्यको ७८ प्रतिशत मात्र राजश्व असुली गर्न सकेको पौडेलले जानकारी दिनुभयो ।
बढी राजश्व असुली हुने मालसामानको पैठारी नै कम भएका कारणले त्यसको प्रत्यक्ष असर भन्सार राजश्व असुलीमा परेको प्रमुख भन्सार अधिकृत पौडेलले बताउनुभयो ।
आर्थिक वर्ष २०७२÷७३ देखि लगातार राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल हुदै आएको वीरगन्ज भन्सार गत आर्थिक वर्ष २०७८÷७९ मा भने वषर्षिक लक्ष्यभन्दा बढि नै राजश्व संकलन गरेको थियो ।वीरगन्ज भन्सारले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यभन्दा शुन्य दशमलव ५४ प्रतिशतले बढि अर्थात भन्सार विभागले दिएको लक्ष्य भन्दा १ अर्ब ९ करोड ५३ लाख २२ हजार रुपैया बढि राजश्व संकलन गरेको थियो ।


















