बिदुर खडका
डुमरवाना,लामो समयदेखि वर्षा नभएर खडेरी परेपछि बाराका किसानहरु धान रोपाइ गर्न नपाएर चिन्तामा परेका छन ।
धान रोप्ने मुख्य समयमा खडेरी परेपछि रोपाइ गर्न नपाएर किसान चिन्तित बनेका हुन । जिल्लाका अधिकांश किसानले आकासे पानीको भरमा खेती गर्दै आएका छन । पानी नपरेपछि पम्पिङ्ग सेटबाट पानी तानेर रोपाइ गर्नुपर्दा आफूहरु मार्कामा परेको डुमरवानाका किसान राजाराम चौधरी बताउनुहुन्छ । उहाँले डिजेलको मूल्य पनि बढेको र पम्पिङ्ग सेटबाट पानी तानेर रोपाइँ गर्दा किसानले थप घाटा बेहोर्नु पर्ने बताउनुभयो । उहाँले उत्तम खेती, मध्यम व्यापार र चुत्थो जागिर भन्ने पुरानो उखान हाल असान्दर्भिक र उल्टो भएको पनि बताउनुभयो । अहिले आएर कृषि पेसा सबैभन्दा तुच्छ बनेको चौधरीको भनाइ छ ।
ट्याक्टरले खेत जोत्दा विगतमा प्रतिघन्टा १हजार ४ सय रुपैयाबाट हाल २ हजार पुगेको छ भने पानी पटाउने पम्पिङ्ग सेटको भाँडा प्रतिघन्टा २ सय बाट ३ सय पुगेको उहाँले जानकारी दिनुभयो । त्यस्तै २ हजारमा पाइने रसायनिक मलको मूल्य बढेर ३ हजार पुगेको र धान रोपाइँको बेलामा आकासबाट पानी नपर्दा किसान थप समस्यामा परेको चौधरीको भनाइ छ ।
गाउँका अगुवा सिकान चौधरीका अनुसार १ बिगाहा खेतमा धान रोपाइँ गर्न करिव ६० हजार रुपैया खर्च हुने र राम्रो फलेको खण्डमा किसानले ५८हजार रुपैयाको मात्रै धान उत्पादन गर्ने गरेकाछन ।
किसानले उब्जाएको अन्न खाने कर्मचारी र व्यापारीलाई ईन्धनको मुल्य वृद्धिसंगै सरकारले तलब पनि बढाएको छ तर किसानले उत्पादन गरेको अनाजको मुल्य भने घट्दो अवस्थामा रहेको किसान चौधरीको गुनासो छ ।
सरकारले किसानलाई आवश्यक मल, बिउसहित थप राहत दिनुपर्ने उहाँले माग गर्नुभएको छ । ‘सरकारले किसानलाई राहत दिनुपर्यो, उहाँले भन्नुभयो, नत्र किसानहरु पेसाबाट नै पलायन हुने अवस्था आउन सक्छ ।’