निजगढ,बकैया खोलामा सोमवार बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय निजगढले दिएको जानकारीअनुसार मृतक सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ६ की मञ्जु गुरुङ्ग रहेकी छिन । परिवारका सदस्यहरु सम्पर्कमा आएपछि गुरुङ्गको सनाखत भएको हो ।
मानसिक सन्तुलन गुमाएकी गुरुङ्ग ३ दिनअघिदेखि निजगढ ८ स्थित सप्तऋषि धर्मशाला आसपासको क्षेत्रमा बस्दै आएको स्थानीयले जानकारी दिएका छन । नुहाउने क्रममा सोमवार बिहान खोलामा गएको स्थानीयले देखेको र सोही क्रममा बाढीले बगाएको हुनसक्ने ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताउनुभएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ९ र कोल्हवी नगरपालिका वडा नम्बर २ को सीमानजिकै सोमवार दिउसो उनको शव फेला परेको थियो ।पूर्व–पश्चिम लोकमार्गमा रहेको बकैया खोलाको पुलभन्दा करिब दुई किलोमिटर दक्षिणमा खोला किनारमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।