सिमरा,जीतपुरमा ५१ कुण्डीय गायत्री महायज्ञको अवसरमा बिहीवार कलशयात्रा निकालिएको छ । फागुन १६ गतेदेख १८ गतेसम्म हुने महायज्ञको अवसरमा कलशयात्रा निकालिएको हो ।बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले दीप प्रज्ज्वलन गरेर कलशयात्राको शुभारम्भ गर्नुभएको थियो । कशलयात्रामा मधेस प्रदेशसभा सदस्य एवम् मधेस सरकारका पूर्वमन्त्री जितेन्द्र सोनल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारीलगायत स्थानीयको उत्साहजनकको उपस्थिति रहेको थियो ।
जीतपुरसिमरा हिन्दु समाज गायत्री महायज्ञ समितिको आयोजनामा भएको कलशयात्रा अघि धार्मिक विधिअनुसार प्रार्थना र पूजापाठ गरिएको थियो ।जीतपुरस्थित श्री बंगाली बाबा युग धर्म आश्रममा हुने महायज्ञमा ब्रतवन्ध, नामाकरण, अन्नप्राशन, ५१ जोडीको पुर्नविवाहलगायत विभिन्न धार्मिक संस्कारका कार्य हुने आयोजक जीतपुरसिमरा हिन्दु समाज गायत्री महायज्ञ समितिका संयोजक सन्तोष कुशवाहाले जानकारी दिनुभएको छ । कुशवाहाका अनुसार प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म हवन र साँझ ५ बजेदेखि ९ बजेसम्म भजनकिर्तन हुनेछ ।जीतपुरमा कुण्डीय गायत्री महायज्ञ हुन लागेको यो दोस्रो पटक हो । जीतपुरमा करिब दुई वर्षअघि २४ कुण्डीय गायत्री महायज्ञ आयोजना भएको थियो ।


















