वीरगन्ज,पर्साको जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी निर्वाचित भएका हुन् ।

अनोजले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष रामप्रितलाई महतोलाई एक हजार २६१ मतले पराजित गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अनोजले चार हजार ५६० मत ल्याउँदा रामप्रितले तीन हजार २९९ मत पाएको निर्वाचन अधिकृत झविन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । ०७४ सालको निर्वाचनमा रामप्रित दुई ९५९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

उपाध्यक्षमा निर्वाचित रेखाले पनि निवर्तमान उपाध्यक्ष उषादेवी थरुनीलाई पराजित गर्नुभएको हो । रेखाले उषाले भन्दा एक हजार ७४५ मत बढी ल्याउनुभएको छ । उषाले चार हजार ७१० मत पाउँदा रेखाले दुई हजार ९६५ मत मात्रै पाउनुभयो । जिराभवानी गाउँपालिकामा ११ हजार ४९५ मत खसेको थियो ।

बैंगलोरबाट एमफर्मा गर्नुभएका अनोजले नेशनल हेल्थ केयर औषधी उद्योगको जागिर छोडेर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । प्रदेश सभा सदस्य चौधरीका अनुसार ५ वटै वडाबाट स्थानीयले उम्मेदवार बन्न आग्रह गरेपछि अनोज जागिर छोडेर आउनुभएको थियो ।

कांग्रेस ३ र एमाले २ वटा वडामा विजयी

०७४ सालको निर्वाचनमा जिराभवानीको पाँच वटा वडामध्ये २ वटा एमाले, कांग्रेस, राप्रपा र तत्कालिन संघीय समाजवादी फोरमले १÷१ वटा वडा जितेका थिए । यसपटक नेपाली कांग्रेसले ३ र एमालेले २ वटा वडा जितेको छ ।

गत निर्वाचनमा कांग्रेसले जितेको वडा नं १ मा एमालेका रामशरण खवास थारु (१२८८), वडा नं २ मा पूनः एमालेका महादेव महतो थारु (८७७), फोरमले जितेको वडा नं ३ मा काँग्रेसका सुरुज राय थारु (९६४), एमालेले जितेको वडा नं ४ मा कांग्रेसका राजेश्वर दास थारु (७४२ र राप्रपाले जितेको वडा नं ५ मा काँग्रेसकै दारा सिंह राउत (थारु) (६१०) मत ल्याएर विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here