कलैया,बाराको फेटा गाउँपालिका वडा नम्बर ४ फूलबरिया निवासी ४६ वर्षीय प्रेमचन्द्र महराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
गत फागुन १३ गते शुक्रवार बेलुकी पौने ८ बजे वीरगन्ज महानगरपालिका फूलबरिया टोलस्थित गाई गोठमा खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा महराको शब फेला परेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ निवासी ३४ वर्षीय दीपककुमार महरालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । खनालका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी बरामद भएको छ ।
अनुसन्धानका क्रममा अनैतिक सम्बन्धको प्रतिशोधस्वरुप हत्या भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक खनालको भनाइ छ । पक्राउ परेका महराविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।