राजन कुमार बानिया
पोखरिया,पर्साको पटेर्वा सुगौली गाँउपालिकाको दोश्रो कार्यकालको गाँउसभाबाट पारित बजेट तथा नीति कार्यक्रम र कार्यपालिकाका निर्णयहरुको सार्वजनिकीरण कार्यक्रम सम्पन्न भएको छ ।
गाँउसभामा गाँउपालिकाकी उपाध्यक्ष ममता महतोले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ४२ करोड २० लाख रुपैया बराबरको बजेट सार्वजनिक गर्नुभएको छ । पटेर्वासुगौली गाँउपालिकाले पर्यटन पूर्वाधार विकाससंगै स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको उपाध्यक्ष महतोले जानकारी दिनुभयो ।
भौतिक पुर्वधार विकासतर्फ पहिलो प्राथमिकतामा गाउँपालिका भवन र गाउँपालिका क्षेत्रभित्र सडकमा कालोपत्र गर्ने कार्यलाई राखिएको छ भने पशुपालक किसानको पशु बीमा सेवा निशुल्क उपलब्ध गराइने, विपन्न तथा दलित छात्रछात्राको उच्च शिक्षाका लागि छात्रवृतिको व्यवस्था, पालिकाका सबै माध्यमिक विद्यालयहरुमा विषयगत शिक्षकको व्यवस्था, एक विद्यालय एक कम्प्युटर, एक प्रिन्टर, कक्षा ३ सम्म अँग्रेजी माध्यमबाट पठनपाठन संचालन गर्ने जस्ता कार्यक्रम समावेश गरिएको छ ।
गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीको अध्यक्षतामा भएको गाउँसभामा बोल्दै अध्यक्ष चौधरीले पटेर्वासुगौली गाउँपालिकाका सेवाग्राहीहरुको काम छिटो र छरितो ढङ्गले गर्न कर्मचारीहरु निर्देशन दिनुभएको थिाये । विकासको काममा जनप्रतिनिधि र कर्मचारीहरुको सहकार्य र सहयोग आवश्यक रहेको भन्दै उहाँले सहकार्य बिना विकास कार्यले गति लिन नसक्ने बताउनुभयो । कर्मचारीहरुलाई ईमानदारीपुर्वक काम गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ ।
गाउँपालिकामा राम्रो काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सन्देशकुमार यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष फरमान मियाँ, विजय गैरे, माधव महतो थारु, बासु पंजियार, बिपिन मुखिया बिनसहित कार्यपालिका सदस्य, गाउँसभा सदस्यहरु, कार्यालयका कर्मचारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख शम्भु साहले गर्नुभएको थियो ।