पुष्पराज खतिवडा
मनहर्वा,जग्गा विवाद झिकेर निर्माणधिन बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित बालगंगा नदीमा पुल निर्माण कार्य अलपत्र पर्ने सखरा हाउजिङ्ग कम्पनी प्रालि बसुन्धरा काठमाडौंलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।
सिमरा–कोल्हवी सडकखण्ड अन्तरगत जीतपुरसिमरा उपमहानगर १२, १५ र १८ को सिमानामा पर्ने बालगगां खोलाको पुल सो कम्पनीको लापरवाहीका कारण अलपत्र परेको भन्दै स्थानीय रुष्ट बनेका हुन् ।
आक्रोशित स्थानीयको शनिबार अलपत्र पुलमूनी बसेको भेलाले पुलको निर्माण रोक्ने सखरा हाउजिङ्ग कम्पनीलाई वडा कार्यालयहरुबाट आवश्यक हुने कागजात रोक्का गर्न जनप्रतिनिधिहरुसँग माग गरेको थियो ।
भेलामा सहभागी वडा अध्यक्षहरुले समेत स्थानीयको मागलाई तत्काल सम्बोधन गर्दै सो कम्पनीले समस्या समाधन नगरेसम्म कम्पनीसंग सम्बन्धित कुनै काम वा सिफारिस नगर्ने बताएका छन् । जग्गा कारोबारीको नाममा खोलामा परेको जिल्ला किन्ने, मास्ने र जनताको हितको काममा अवरोध श्रृजना गर्ने सखरा हाउजिङ्ग कम्पनीको कुनै काम नगर्ने नवनिर्वाचित वडा अध्यक्षहरुले बताएका छन् ।
पुल निर्माणको काम रोकिँदा दैनिक हजारौं सर्वसाधारण जनताले दुःख पाएको भन्दै भेलामा सहभागीहरुले कम्पनी विरुद्ध संर्घषमा उत्रिने घोषणा गरेको छन् । बर्षायामसँगै बाढी र डुवानका कारण आवागमनमा समस्या भोग्दै आएका स्थानीयले आवागमनलाई सहज पार्न सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने उदेश्यले भेलाको आयोजना गरेका हुन ।
भेलाले पुल निर्माणको लागि दवाव दिने उद्देश्यले वडा नम्बर १८ बडहर्वाका राजेश भण्डारीको अध्यक्षतामा ३४ सदस्य संघर्ष समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
०७८ चैत्र मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण भइरहेको पुल आफ्नो जग्गामा परेको भन्दै डिभिजन सडक कार्यालय हेटौंडाको विरुद्ध २०७७ माघ २७ गते सखरा हाउजिङ्ग कम्पनी प्रालि बसुन्धरा काठमाडौंले जिल्ला अदालत बारामा मुद्दा हालेको थियो ।
कम्पनीले साविक डुमरवाना गाविस वडा नंम्बर ४ को कित्ता नम्बर. ४३४ को १ बिघा र कित्ता नम्बर ४३५ को ३ कठ्ठा जमिन मध्ये १ बिगाह १ कठ्ठा जमिनमा पुल बनेको दावी गरेको छ । कम्पनीको तर्फबाट कलैया उपमहानगरपालिका वडा नम्बर २४ सखुईका रामेश्वरप्रसाद यादवले मुद्दा दर्ता गराउनुभएको थियो । उहाँले प्रतिकठ्ठा ११ लाख क्षतिपूर्ती माग दावी गर्नुभएको छ ।
सोही मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत बाराले पुल निर्माण कार्यमा रोक लगाउदा पुल अलपत्र परेको स्थानीय हरिचन्द्रप्रसाद यादवले बताउनुभयो ।
विचाराधिन अवस्थामा रहेको मुद्दा चाँडो किनारा लगाई सर्वसाधारणले पाएको सास्ति अत्यको लागि आवश्यक पहल गरिदिन जनप्रतिधिहरुलाई आग्रह गरेका छन । पुल निर्माण कार्य चाँडै सम्पन्न गर्नुपर्ने भेलामा सहभागीहरुले बताएका छन ।
करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा भूमाफियाहरुको चलखेलले गर्दा उपमहानगरबासीले आफ्नै पालिकाको केन्द्रसम्म पुग्न लामो र जंगलको जोखिमपूर्ण यात्रा तय गर्नुपर्ने अवस्था रहेको वडा नम्बर १८ का जगदिप कोइरालाले बताउनुभयो ।
काठमाण्डौंमा बसेर यहाँका खोलाको जमिन सस्तोमा किनेर जनतालाईनै दुःख दिने आउजिङ्गको कारोबार शंकास्पद रहेको भन्दै स्थानीयले छानविन गर्न माग गरेका छन् । ठुला जग्गा कारोबारीहरुले सरकारका प्रतिनधिहरुसँगको सेटिङ्गमा खोलामा परेको जग्गा सस्तोमा किनेर मोटो रकम क्षेतिपुर्ती लिने गरेको उनीहरुले आरोप लगाए ।
कार्यक्रममा वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्ले, १७ का भिमबहादुर गंतान, १६ का हरिदेव खरेल, १५ का रामप्रसाद लामिछाने, १२ का श्यामबाबु चौधरी र वडा नम्बर १३ का अध्यक्ष हेमनारायण चौधरी लगायत सयौं स्थानीयको सहभागिता थियो । उनीहरुले पुल निर्माणको निकास ननिस्कदासम्म जनतालाई दुःख दिने कम्पनीको कुनै काम नगर्ने भेलामा सहभागीहरुका बीच प्रतिबद्धता ब्यक्त गरेका थिए ।