नरेश गुप्ता
बरियारपुर,महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले निस्वार्थ भावले काम गर्ने मानिस संसारमा कहिल्यै दुखी हुनु नपर्ने बताउनु भएको छ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित त्राही आच्युत आश्रममा निर्माण हुन लागेको राधाकृष्ण मन्दिरको शिलान्यास कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै मेयर यादवले यस्तो बताउनु भएको हो ।
ईश्वरप्रति मोह र निस्वार्थ भावानाले काम गर्ने मानिस कहिल्यै दुखी नहुने उहाँको भनाइ थियो । जीवनमा अगाडि बढन अध्यात्मिक ज्ञान पनि आवश्यक रहेको उहाँको भनाइ थियो । मानिसले सच्चा मनले आफ्नो कर्म गर्नु पर्नेमा उहाँले जोड दिनु भएको थियो ।
राधाकृष्ण मन्दिरको शिलान्यास कार्यक्रममा बोल्दै ब्रह्म कुमारी राज्य योग सेवा केन्द्र बरियारपुरकी संचालिका गंगा थापाले ईश्वर रुपी मनलाई पूज्नु पर्ने बताउनुभयो । अध्यात्मिक संसारमा लोभ, मोह, क्रोध त्यागेर सच्चा भावनाले ईश्वरको भक्तिमा लाग्नु पर्ने उहाँको भनाइ थियो ।
महागढीमाई नगरपालिकाको २० लाख सहयोगमा आश्रमभित्र राधाकृष्ण मन्दिर निर्माण हुन लागेको हो । त्राही आच्युत आश्रमका संचालक पुरुषोत्तम कुशवाहाको अध्यक्षतामा भएको सो कार्यक्रममा महागढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्ताफा, ब्रह्म कुमारी राज योग कलैयाकी सुष्मा दिदी, नेपाल शिक्षक संघ बाराका अध्यक्ष परमहंश यादव, गुरुभाइ जितेन्द्र गुप्ता लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शिलान्यास कार्यक्रममा स्थानीयबांसी, संचारकर्मी, सुरक्षाकर्मी र आश्रमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन ज्ञानप्रकाश रौनियारले गर्नु भएको थियो ।


















