निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको लागि आइतवार भएको भेला पनि सहमतिमा पुग्न नसकेपछि समिति गठन अनिश्चित बनेको छ ।

समिति गठनको लागि आगामी शुक्रवार फेरि अर्को छलफल गर्ने गरी भेला स्थगित गरिएको विद्यालयका लेखापाल रुद्र धितालले जानकारी दिनुभयो । व्यवस्थापन समिति गठनको लागि भएको छलफलमा स्थानीय राजनितिक दल समर्थित अभिभावकहरुबीच सहमति हुन नसकेपछि भेला स्थगित गरिएको हो । स्रोतका अभिभावकहरु मध्येबाट चयन हुने ४ सदस्य पदको लागि आनौपचारिक रुपमा भेला सहमति नजिक पुगेको बताए पनि नेकपा एमाले र नेपाली कांग्रेश समर्थित अभिभावकहरुले अध्यक्ष पदमा आफ्नो दाबी नछाडेपछि सहमति हुन सकेको थिएन ।

समितिको अध्यक्ष पदमा एमाले र कांग्रेश समर्थित अभिभावकहरुले आआफ्नो दाबी गर्दै आएका छन । यसअघि बिहीवार भएको भेलामा पनि २ जना महिलासहित ४ जना सदस्य पदको लागि ४५ जनाले आकांक्षा देखाएपछि भेला बिना सहमति टुङ्गिएको थियो । उक्त भेलामा महिला सदस्यको लागि सरिता राई र प्रमिला पराजुली नेपालको नाममा सहमति बनेको भए पनि पुरुष आकांक्षीहरुबीच सहमति हुन सकेको थिएन । आइतवार तीनै ४५ जना आकांक्षीहरुलाई राखेर सहमतिको प्रयास भएको हो । समिति गठनको लागि बोलाइएको भेलामा कुनै निर्णय हुन नसकेपछि यसअघि पनि ३ पटकसम्म भेला स्थगित हुदै आएको छ । सहमति हुन नसक्दा २ वर्षदेखि विद्यालयको व्यवस्थापन समिति रिक्त रहदै आएको छ । समितिको अभावमा विद्यालयको भौतिक निर्माण लगायत अन्य कार्यक्रमहरु प्रभावित हुदै आएको छ ।

Leave a Reply