निजगढ,निजगढ नगरपालिकाले बजेट र नीति तथा कार्यक्रम तयार पार्नेक्रममा सरोकारवालासँग छलफल गर्ने भएको छ ।
सरोकारवालाहरुसंगको सल्लाह र सुझावको आधारमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट, नीति तथा कार्यक्रम तयार गर्न नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गर्न लागेको हो । नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम तय गर्न जेठ २१ गतेदेखि २३ गतेसम्म सरोकारवालासँग छलफल गर्ने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले आइतवार सार्वजनिक गरेको सूचनामा आगामी सोमवार बिहान ८ बजे नगरपालिकामा अवस्थित संघ संस्था र सोही दिन दिउसो ३ बजे नगरपालिका क्षेत्राधिकारभित्र सञ्चालित सहकारी संस्थाहरुका प्रतिनिधिहरुसंगै छलफल गरिने छ । यस्तै मंगलवार बिहान ८ बजे विद्यालयका प्रधानाध्यापकहरु र सोही दिन दिउसो ३ बजेबाट सामुदायिक वनका प्रतिनिधिहरुसँग छलफल गरिने अधिकृत बर्तौलाले जनाउनुभएको छ । यस्तै जेठ २३ गते ८ बजेबाट स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुसँग नगरपालिकाले छलफल गर्ने सूचनामा जनाइएको छ ।
साथै टोल विकास समिति, स्थानीय उपभोक्ता समिति तथा नगरबासीले सम्बन्धित वडाको वडास्तरीय योजना तर्जुमा बैठकमार्फत सुझाव पेस गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ । नगरबासीहरुको तर्फबाट ईमेलमार्फत बजेट, नीति तथा कार्यक्रमको सम्बन्धमा सुझाव पेस गर्न सकिने व्यवस्था नगरपालिकाले मिलाएको जानकारी दिइएको छ ।



















