वीरगन्ज,नेकपा माओवादी केन्द्र पर्सा जिल्ला कमिटीले वीरगन्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारीसहितका नेता कार्यकर्तालाई कारबाही गरेको छ ।

अध्यक्ष अन्सारीसहित उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्माद्दिन अन्सारीलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको नेकपा माओवादी केन्द्र पर्साले जनाएको छ । ईन्चार्ज बिजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुलाई कारबाही गरेको जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साको पार्टी कार्यालय तोडफोड गर्नुको साथै जिल्लाका जिम्मेवार नेतृत्वहरुलाई गाली गलौज गराउन लगाएर देशी तथा विदेशी प्रतिक्रियावादीहरुको ईशारामा पार्टीलाई बदनाम गरेकाले उनीहरुलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । स्थानीय चुनावमा समेत धक्का पार्ने, अनुशासनहीन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने कार्य गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।

 

यसअघि नेकपा माओवादी केन्द्र पर्साका असन्तुष्ट कार्यकर्ताले बुधवार दिउसो वीरगन्जको राधेमाईस्थित आफ्नै कार्यालयमा तोडफोड गरेका थिए । पार्टीको जिल्ला नेतृत्वको गतिविधिलाई लिएर असन्तुष्ट बनेका अखिल क्रान्तिकारी मधेस प्रदेश प्रमुख सचिव जुवेर आलम, पार्टीको वीरगन्ज महानगर उपाध्यक्षद्वय अनीरुद्ध यादव र जुमादीन अन्सारी, वडा कमिटी अध्यक्ष हिरा अन्सारी, छोटेलाल कुर्मीलगायतले कार्यालयमा तोडफोड गरेको आरोप छ ।

उनीहरु आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले गठन गरेको जिल्ला समन्वय समितिको गतिविधिप्रति असन्तुष्टी जनाउँदै ध्यानाकर्षण पत्र बुझाउन गएका थिए ।

ध्यानाकर्षणपत्र बुझाउन जाँदा विवाद भएपछि आक्रोशमा आएका उनीहरु तोडफोडमा उत्रिएका थिए । तोडफोडपछि उनीहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यालयमा ‘चन्दा खोरी बन्द गर’ लेखेको पोस्टर र विभिन्न बुँदामा ध्यानाकर्षण गराएको पत्रसमेत टाँसेका छन् । चन्दा असुली गरेर पार्टीलाई वदनाम गरेको भन्दै उनीहरुले पार्टीको जिल्ला संयोजक र सचिवको राजिनामा समेत मागे गरेका छन् ।

तोडफोडबाट कार्यलयमा रहेको टेबल, कुर्सी, सोफालगायतका सामग्रीमा क्षति पुगेको माओवादी केन्द्रले जनाएको छ । नेकपा माओवादी केन्द्र पर्सा जिल्ला संयोजक राम दरश कुसवाहाले पार्टीको विधि र प्रक्रिया नमान्ने अनैतिक एवं अराजक समूहले पार्टी कार्यालयमा तोडफोड गरेको बताउनुभयो ।

माओवादी केन्द्रका वीरगन्ज महानगरपालिका अध्यक्ष रहबर अन्सारीले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ । ‘त्यो घटनामा म कहिँ पनि संलग्न छैन, आफ्नो कमी कमजोरी लुकाउन र मेरो चरित्र हत्या गर्न कारबाही गरेका हुन’ उहाँले भन्नुभयो ।

पार्टीको विधान अनुसार जिल्ला समितिले आफूलाई निष्कासन गर्न नसक्ने अन्सारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here