जनकपुर, ३ भदौँ– महोत्तरीको मनरा सिसवा नगरपालिका–९ बथनाहास्थित नेपाल÷भारत सीमामा एक दुर्लभ मुर्ति फेला परेको छ ।
२२ वर्षीय स्थानीय बलिन्दर सदाले दजगजा क्षेत्रबाट भगवान बुद्धको जस्तै देखिने दुर्लभ मूर्ति फेला पार्नुभएको हो । फेला परेको उक्त मूर्ति लगभग एक फिट उचाइको रहेको छ । करिब १५ किलो तौल रहेको मूर्ति सयौं वर्ष पुरानो देखिन्छ । फेला परेको उक्त मुर्ति यसअघि अन्य कहिँकतै नदेखिएको स्थानीयबासीले बताएका छन ।
स्थानीयका अनुसार बुधबार कुशे औंसी भएकाले सदा बिहान कुश उखेल्न सिमापारि पुग्नुभएको थियो । कुश उखेल्ने क्रममा उहाँले छेउमा रहेको नदीमा माछा देख्नुभयो ।
माछा समात्न जादा मूर्ति भेटिएको उहाँले बताउनुभएको छ । मुर्ति भेट्याउने सदालाई भारतीय एसएसबीले नियन्त्रणमा लिएर सिमापारी लगेको छ । मुर्ति माग्न आएका भारतीय सुरक्षाकर्मीले उहाँलाई घरबाटै नियनन्त्रणमा लिएर लगेको नेकपाका युवा नेता सत्येन्द्र यादवले जानकारी दिनुभयो ।
मुर्ति फिर्ता पाए सदालाई छोड्ने भारतीय एसएसबीले बताएको छ । फेला परेको उक्त मुर्ति अहिले मनरा सिसवा प्रहरीको नियन्त्रणमा छ । यता, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सदाको रिहाइको लागि पहल गरिरहेको बताउनुभएको छ ।