वीरगञ्ज,वीरगञ्जमा हुन लागेको पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन समारोह भव्य बनाउने तयारी तीव्र रूपमा भइरहेको आयोजक समितिले जनाएको छ ।“श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति”का महासचिव हिराबहादुर चन्दले मङ्गलवार सञ्चारकर्मीहरूसँग भेटघाटमा कार्यक्रमको तयारी तीव्र रूपले अगाडि बढिरहेको बताउनुभएको हो ।

भेटघाटमा नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष एवंम नेपाली काङ्ग्रेसका नेता एवम् वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले वीरगञ्जस्थित लाल बङ्गला परिसरमा हुने राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दनमा पर्सासहित बारा, रौतहट र मकवानपुर लगायतका जिल्लाबाट आउने नागरिकसहित विभिन्न राजनीतिक दल, राष्ट्रवादी-हिन्दुवादी सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी हुने जानकारी दिनुभयो ।

अभिनन्दन समारोहमा प्रतिनिधित्व गर्न विभिन्न उद्योगी व्यवसायीका सङ्घ सङ्गठन, राजनीतिक दल, सङ्घसंस्था लगायतले हार्दिकतापूर्वक इच्छा जाहेर गरिरहेको पनि प्रचार प्रसार समितिका संयोजक मानव सेवकले बताउनुभयो ।यसैबीच राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अध्यक्ष एवम् पूर्वमन्त्री केशरबहादुर विष्ट सम्मिलित एक टोलीले मङ्गलवार वीरगञ्जस्थित नागरिक अभिनन्द समारोह स्थल लाल बङ्गला परिसरको स्थलगत निरीक्षण गरेको छ ।सो अवसरमा मञ्च व्यवस्थापन समितिका संयोजक एवं मूल समारोह समितिका कोषाध्यक्ष राजकुमार सिँधी, नरेशबहादुर सिंह, मूल समारोह समितिका महासचिव हिराबहादुर चन्द लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply