वीरगन्ज,पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएसँगै वीरगन्जका खुद्रा ढुवानी व्यवसायीहरुले ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी संघ वीरगन्जको मंगलार बसेको बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको निक्र्याैल गर्दै ढुवानी सेवा बन्द गर्ने निर्णय गरेको हो ।

संघका उपाध्यक्ष प्रबिन कुमार कर्णको अध्यक्षतामा बसेको बैठकले पेट्रोलियम पदार्थमा र ढुवानीका साधनमा अत्यधिक मूलय अभिवृद्धि भएपनि ढुवानी भाडामा बृद्धि नभएको भन्दै बैठकमा उपस्थित ढुवानी व्यवसायीहरुले दुखेसो पोखेका थिए ।

संघका सचिव नवराज अधिकारले भन्नुभयो, ‘डिजेलको मूल्य १ सय ४ रुपैयाँप्रति लिटर हुँदा लागु गरिएकै भाडामा अहिले डिजेल १ सय ६४ रुपैयाँ प्रतिलिटर हुँदा पनि बुकिंग गरिरहेका छौँ । अहिले १० टन खुद्रा सामाग्री लिएर काठमाण्डौ जानु परेमा २७ हजारको डिजेल नै खर्च हुन्छ । खाना, चालक सहचालकको पारिश्रमिक सबै गरी १० हजार जोड्दा ३७ हजार खर्च भएपनि अहिले ३० हजारभन्दा बढी कसैले दिँदैन ।’

संघ आवद्ध ४६ जना खुद्रा ढुवानी व्यवसायीहरुले खर्चअनुसारको ढुवानी भाडामा पनि समायोजन हुनुपर्ने माग राखेको संघका अध्यक्ष बालकृष्ण पोख्रेलले बताउनुभयो । उहाँका अनुसार वीरगन्जबाट दैनिक कम्तिमा ४० देखि ६० व्यवसायीहरु खुद्रा सामाग्री लिएर पूर्व र पश्चिमका विभिन्न शहरहरुमा जाने गरेका छन् ।

वीरगन्जको आदर्शनगरबाट ४० वटा र बाइपास क्षेत्रबाट १० वटा गरेर कम्तिमा ६० वटा ढुवानीका साधन यहाँबाट सञ्चालन हुने गरेको संघका सचिव अधिकारीले जानकारी दिनुभयो । अधिकारका अनुसार निरन्तर व्यवसायीहरुसँग छलफल भइरहेको हुँदा ३ दिनभित्रमा भाडा निर्धारण गरेर ढुवानी व्यवसायी महासंघको केन्द्रिय समितिमा पठाइ समायोजन गराइनेछ ।

ढुवानी व्यवसाय बन्द हुँदा व्यापारीहरुमा पर्न गएको असुविधाप्रति सचिव अधिकारीले सूचनामार्फत क्षमा पनि मागेका छन् । बैठकमा संघका सहसचिव राजेश पटेल, कोषाध्यक्ष जिवेश मिश्रा, सदस्यहरु सरोज सिंह, सुशिल कलवार, महेश हमाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply