अनिल तिवारी
सिमरा, ३० फागुन । १२ वर्ष पहिले पत्रकार विरेन्द्र साह हत्याको आरोपित कुन्दन भनिने नरेन्द्र कुमार फौजदारलाई अदालतले पुर्पक्षका लागि करागारमा राख्न निर्देशन दिएको छ । सम्मानित जिल्ला अदालत बाराले फौजदार विरुद्धको कर्तव्य ज्यान मुद्दामा उनलाई पुर्पक्षमा राख्न निर्देशन दिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले फौजदारलाई कर्तव्य ज्यान, लागू औषध र डकैती लुटपाट मुद्दाको कारवाहीमा बिहीबार अदालत पेश गरेको थियो । सोहि क्रममा जिल्ला अदालत बाराका एक नम्बर न्यायायधीश खिलनाथ रेग्मीको इजलासले फौजदारलाई पुर्पक्षका लागि करागारमा राख्न निर्देशन दिएको हो ।
पत्रकार साहको हत्यामा फौजदारको संलग्नता रहेको पुष्टि हुने प्रमाण देखिएकाले अर्को फैसला नहुन्जेल अदालतले उनलाई पुर्पक्षका लागि पठाएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । सम्मानित अदालतका न्यायाधीश रेग्मीको आदेशमा प्रचलित कानुन अनुसार मुनासिब देखिएको र प्रमाणका आधारमा पछि ठहरिने गरी हाललाई पुर्पक्षका लागि थुनामा राख्ने भनिएको छ ।
समाचार संकलनका लागि बाराको पिपरा बजार पुगेका पत्रकार साहलाई कुन्दन सहितका व्यक्तिले २०६४ असोज १८ गते अपहरण गरी गोलि हानेर हत्या गरेका थिए । पत्रकार साहको शव एक महिनापछि कार्तिक २२ गते टांगियाबस्तीको जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।
पत्रकार साहको हत्याका मुख्य अभियुक्त फौजदारलाई प्रहरीले १२ वर्षपछि गत शनिबार पक्राउ गरेको थियो । भने अन्य दुई व्यक्ति लालबाबु चौधरी धामी र हरेराम पटेल अझै फरार छन् । उनीहरुलाई प्रहरीले खोजी सूचिमा राखेको छ ।