काठमाडौं,सरकार र यातायात व्यवसायीबीच सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् ।चारवटै व्यवसायी महासंघले मंगलवार पनि बन्द निरन्तर रहने बताएका छन् । पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै प्रमुख भएको भन्दै व्यवसायीले वार्तामा कुरा नमिलेको बताएका छन् ।नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलले निरन्तर छलफल भइरहेको बताउनुभयो । छलफल सकारात्मक ढंगले अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।
अब पुनः मंगलवार साढे १० बजे वार्ता हुने समेत बताइएको छ । सरकार र यातायात व्यवसायीबीच सोमवार एक कार्यदल गठन भई छलफल अगाडि बढेको थियो ।
बन्द गराउँदै हिँड्ने १५ जना पक्राउ
काठमाण्डौ – प्रहरीले गाडी बन्द गराउँदै हिँड्ने १५ जना बन्दकर्तालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर गरेर गाडी बन्द गराउँदै हिँड्ने १५ जनालाई पक्राउ गरेको बताउनुभयो ।
काठमाण्डौ उपत्यकामा प्रहरीले २ वटा बस सञ्चालन गरी निःशुल्क बस सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो । यस्तै सशस्त्र प्रहरीले पनि काठमाण्डौ उपत्यकामा २ वटा वसबाट निःशुल्क सेवा दिएको जनाएको छ । साझा यातायातका पनि केही बस चलेका छन् । पोखरासहित देशका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई ’स्कर्टिङ’ गरेर गन्तव्यतर्फ पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
पोखरामा व्यवसायीहरूले पर्यटन बसमा समेत अवरोध गरेका छन् । नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहजताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाण्डौका प्रमुख होटलहरूसम्म पुग्नेहरूलाई निःशुल्क ’शटल’ बसको सुविधा उपलब्ध गराइएको हो ।सार्वजनिक गाडी बन्द हुँदा राइड शेयरिङका राइडरहरुले ठगी गरेका यात्रुहरूले गुनासो गरेका छन् । अनलाइनमा जान नमान्ने र अफलाइन बार्गेनिङ गर्ने गरेको यात्रुहरूको गुनासो छ ।
यातायात व्यवसायीद्धारा पथलैयामा प्रदर्शन
सिमरा,सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आहवानमा सोमवार देशभर सार्वजनिक यातायात ठप्प छ । व्यवयायीहरु आफ्नो सवारी साधन ग्यारेजमा थन्क्याएर सडकमा उत्रिएका छन् ।जसका कारण यात्रु समस्यामा परेका छन् भने राजमार्ग सुनसान बनेको छ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
केन्द्रीय संघर्ष समितिको कार्यक्रम बमोजिम पथलैयामा पनि यातायात व्यवसायीले प्रदर्शन गरेका छन् । पथलैयाको राजमार्गमा उत्रिएर यातायात व्यवसायीले प्रदर्शन गरेका छन् । व्यवसायीको प्रदर्शनका लागि यातायात अवरुद्ध बनेको छ ।
यसैबीच यातायात व्यवसायीका र गृह मन्त्री रमेश लेखकबीच मन्त्रालयमा छलफल भएको छ । छलफलमा आन्दोलनको निकास निकाल्नका लागि समिति बनाउने सहमति भएको छ । समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयबाट आठ जना र यातायात व्यवसायी तथा मजदुरको तर्फबाट चारजना सदस्य रहने छन् ।



















