भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार लुम्बिनी भ्रमण गरे । यसले दुई देशको सम्बन्ध सुमधुर बनाउन पक्कै पनि मद्दत गरेको छ । मोदीले भने जस्तै दुई देशको सम्बन्ध हिमाल झैं अटल र पुरानो हो पनि । प्राचीन मुलुक नेपाल र प्राचीन सभ्यतास्थल भारतकाबीच सांस्कृतिक र धार्मिक समानता छन् । बौद्ध धर्मका प्रवर्तक बुद्धको जन्मस्थलमा बौद्ध पूर्णिमाकै दिन भ्रमण गरेर मोदीले थुप्रै सन्देश दिएका छन् । मोदीको भ्रमणले बुद्ध जन्मस्थल नेपालमा छ भन्ने सन्देश फैलाउन मद्दत गरेको छ ।
बुद्ध नेपालमा जन्मिए । ज्ञान अहिलेको भारतीय भूमिमा प्राप्त गरे । यस अर्थले बुद्ध धर्मका तीर्थस्थल दुवै देशमा छरिएका छन् । बौद्ध धर्मका सम्पदा दुवै देशका साझा भए।मोदीको भ्रमण दुई देशको सम्बन्धलाई बलियो बनाउने धार्मिक कूटनीतिका रूपमा हेर्न सकिन्छ । मोदीले नेपाल आउँदा आफूलाई राजनीतिकभन्दा आध्यात्मिक भ्रमणकै अनुभूति भन्ने अभिव्यक्ति दिए ।
यसले नेपालको धार्मिक र आध्यात्मिक महत्त्व भारतीयमाझ थप फैलन मद्दत पुगेको छ। हिन्दू र बौद्ध धर्मका साझा तीर्थस्थलहरूको गरिमा र महिमालाई अझै उचो बनाउन उनको अभिव्यक्ति सहायक बनेको छ ।