विशेषगरी त्रिभुवन विश्वविद्यालयले फागुन १५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने भएको छ । परिषद्को निर्णयसँगै देशैभरका क्याम्पसमा निर्वाचनको सरगर्मी बढेको छ । केही विद्यार्थी संगठन निर्वाचनको तयारीमा छन् भने केहीले केही पनि बोलेका छैनन् ।
सरकार आबद्ध अनेरास्ववियुले फागुन १५ मै निर्वाचन गर्नुपर्ने भन्दै तयारी थालेको छ । अन्य विद्यार्थी संगठन नबोल्नुको कारण संगठनभित्रै आन्तरिक द्वन्द्व हो । अनेरास्ववियु क्रान्तिकारीमा उमेर विवादको कारण महाअधिवेशन हुन सकेको छैन । नेविसंघमा शेखर कोइराला र शेरबहादुर देउवा पक्षको विवादको कारण समस्या बढ्ने देखिएको छ ।
जे जस्तो परिस्थिति भएपनि गत वर्ष नै त्रिविसभाले निर्णय गरी यस वर्ष फागुन १५ मा निर्वाचन गर्ने निर्णय गरेको थियो । यसरी त्रिविसभाले निर्णय गरिसकेको विषयमा कसैले विरोध गर्नुहुँदैन । योसँगै स्ववियु परिषद्ले निर्णय गरेको विषयमा विद्यार्थी संगठनले निर्वाचन गर्न सहयोग गर्नुको विकल्प छैन । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयलाई निर्वाचन गर्ने जिम्मा दिएको हो । सो बैठकले निर्णय गरेर कार्यान्वयन गर्नु निर्देशनालयको कर्तव्य हो । निर्देशनालयले त्रिविका पदाधिकारीसँग छलफल गरी निर्वाचनको तालिका सार्वजनिक गर्नेछ ।
कानुनतः एक महिनाअघि कार्यतालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । त्यसलगत्तै विद्यार्थी संघ संगठनसँग छलफलगरी थप प्रक्रिया अघि बढाउने प्रावधान छ । निर्देशनालयले निर्वाचनको आचारसंहिता सार्वजनिक गर्ने, उम्मेदवार मनोनयनदेखि निर्वाचन गर्नेसम्मको प्रक्रियाको विषयमा विद्यार्थी संघ, संगठनसँग छलफल गर्नेछ ।