पुष्पराज खतिवडा
मनहर्वा,स्थानीय तह निर्वाचनको मतगणना जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा चलिरहेको छ । विद्यालयको कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पूर्वतर्फ २४ सैं घण्टा राजनीतिक दल र उम्मेदवार, कार्यकर्ता र शुभचिन्तकहरुको भीड लागिरहेको हन्छ ।
त्यहि भीडको छेउमा फूलको माला बेच्न बसेका छन जीतपुरसिमरा उपमहानगरपालिका ७ का राजेश कलवार । मतगणनाको परिणाम सार्वजनिक भएसंगै विजयी उम्मेदवारहरुलाई पहिर्याउन कार्यकर्ताहरुले माला किन्ने गर्छन र कुनै बेला कलवारलाई बेच्न भ्याइनभ्याइ हुन्छ ।
पालिकाको वडा नम्बर २४, २३, २२ र १ को परिमाण सार्वजनिक भसकेको छ । यस्तै २,३,४,२० र २१ नं. वडाको मतगणना जारी रहेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । सार्वजनिक भएका वडाहरु १, २२ र २४ मा नेपाली काँग्रेसका उमेदवारहरु क्रमश हिराबहादुर गुरुङ्ग, शेखरकाजी रुम्बा, सुल्तान अंसारी प्यानल सहित विजय भएका छन् । यस्तै वडा नं. २३ मुस्तकीम अंसारीको प्यानल विजय छन् ।
विजय उमेदवारहरुको परिणाम करिब ५ घण्टाको अन्तरमा आइरहेको छ । उम्मेदवारले जितको नतिजा पाउने पक्का भएपछि शुभचिन्तक र मतदाताले उत्सव मनाउने गरेका छन् । विजयी उम्मेदवारलाई सयपत्रिका माला र अविरले रंगाउनका लागि केही व्यवसायीले मतगणना परिशरमा फूलको मालाको व्यापार गरेर राम्रो आम्दानी गरिरहेका छन् । एउटा सयपत्री फूलको माला ८० रुपैंयासम्म बिक्री हुँदै आएको पाइएको छ ।
युवा व्यवसायी राजेश कलवारले दैनिक १० हजारको फूलको माला बिक्री भइरहेको बताउनुभयो । उहाँले भारतीय बजार रक्सौलबाट खरिद गरि ल्याएको माला बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
‘मतगणनाको परिणाम सार्वजनिक हुने बित्तिकै मालाको बिक्री पनि ह्वात्तै बढ्ने गर्छ, उहाँले भन्नुभयो, नतिजामा ढिला हुँदा ब्यवपार हुँदैन ।’ ढिला भयो भने माला ओइलाउने र घाटा बेहोर्नु पर्ने पनि उहाँले सुनाउनुभयो । यस्तै मतगणना परिशरमा आईसक्रिमको व्यापारसँगै आसपासका चिया र नास्ता पसलहरुमासमेत भीडभाड हुँदा यहाँको ब्यापार ह्वात्तै बढेको स्थानीय ब्यवसायीहरुले बताएका छन ।