कलैया,बाराको सुवर्ण गाउँपालिकाले संविधानसभा सदस्य स्वर्गीय रामअयोध्याप्रसाद यादवको शालिक निर्माण गर्ने भएको छ ।गाउँपालिकाले आर्थिक वर्ष २०८२-०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने क्रममा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले पालिकाकोे सिमांकन र नामाकरणमा प्रशंसनीय भूमिका निर्वाह गरेकोभन्दै स्वर्गीय यादवको शालिक निर्माण गरिने जनाइएको हो ।

सुवर्ण गाउँपालिका– २ कवहीजगात गाउँ घर भएका यादवको गत असार १७ गते ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट निर्वाचित हुनुभएका यादव मधुमेह रोगबाट लामो समयदेखि पीडित हुनुहुन्थ्यो । उहाँ कांग्रेस बाराको पूर्वजिल्ला सचिव तथा महासमिति सदस्य पनि हुनुहुन्थ्यो ।पालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सरसफाइ तथा खानेपानी र कृषि क्षेत्रलाई प्राथमिकतामा बुधवार चालु आर्थिक वर्षको लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाका अध्यक्ष यादवले गाउँपालिकाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ४३ करोड ८ लाख ९५ हजार ६ सय ९७ रुपैयाँ ७२ पैसाको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको हो ।
संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान १० करोड, संघीय सरकार राजस्व बाँडफाँडतर्फ ९ करोड २५ लाख ५४ हजार १ सय ५१, संघीय सरकार सशर्त अनुदान १८ करोड ६४ लाख,आन्तरिक आयतर्फ १ करोड ५१ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।

बजेटमा प्रदेश सरकारबाट वित्तीय समानिकरणतर्फ ६८ करोड ७७ हजार, प्रदेश सरकार विषेश अनुदानतर्फ २५ लाख, समपुरक अनुदान २५ लाख, राजस्व बाँडफाँड ५१ लाख २६ हजार ३ सय, सशर्त अनुदान ८० लाख, गत वर्षको अल्या रकम १ करोड १३ लाख ३८ हजार २ सय ४६ रुपैयाँ र प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमबाट प्राप्त हुने अनुमानित रकम ५ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त हुने उल्लेख छ ।सभामा गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी, वडा अध्यक्षहरु, गाउँ कार्यपालिका सदस्य, कर्मचारी तथा सञ्चारकर्मी, सुरक्षाकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।
सो कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रसासकीय अधिकृत श्याम चौधरीले गर्नुभएको थियो भने संचालन पालिकाका पोषण सहजकर्ता अखिलेशकुमार यादवले गर्नुभएको थियो ।

Leave a Reply