कृष्ण मोहन साह

सेढवा,पर्सा प्रहरीले एक युवतीको शव जलाएको अवस्थामा अस्तु बरामद गरेको छ । पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ भवानीपुरका खेमराज दासकी छोरी २० वर्षिया सीमा कुमारीको शव गाँउ नजिकैको जंगलमा जलाएको अवस्थामा प्रहरीले अस्तु बरामद गरेको हो ।

प्रहरीले मृतक युवती सीमाकी आमालाई नियन्त्रणमा लिएको छ भने बुबा खेमराज सहित परिवारका अन्य सदस्य भने घर छोडेर फरार भएका छन् ।

प्रहरी नायव उपरिक्षक प्रहलाद कार्कीका अनुसार भवानीपुर गाँउ नजिकैको जय माँ जगदम्बा सामुदायिक वनमा सीमाको शव परिवारका सदस्यले बुधबार राति जलाएको सूचना बिहीवार बिहान प्रहरीलाई गाँउलेले दिएका थिए ।

त्यहि सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोली शव जलाइएको स्थानमा पुगेको थियो । घटनास्थलबाट जली सकेको शवको अवशेषहरु संकलन गरि पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

मृतककी आमालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको र परिवारका अन्य सदस्यहरु भने घर छाडेर फरार रहेकाले उनीहरुको पनि खोजी भइरहेको कार्कीले बताउनुभयो ।

युवतीका छिमेकीले दिएको जानकारीअनुसार सिमा र गाँउकै यादव थरका एक युवकबीच केहि समयदेखि प्रेम सम्बन्ध थियो । एक हप्ता पहिले दुबै विहे गर्नका लागि घर छाडेर भागेका थिए । त्यसपछि युवतीका अभिभावकले सम्झाइबुझाइ गरि सीमालाई घर फर्काएका थिए ।

घरमा ल्याएदेखि नै उनीहरुले सीमालाई मानसिक र शारीरिक यातना दिदै आएका थिए । बुधबार राति सीमालाई उनका अभिभावकले निर्घात कुटपिट पनि गरेको छिमेकीहरुले बताएका छन् ।

बिहीबार जंगलबाट सीमाको जलिसकेको शव बरामद गरेपछि प्रहरीले नियन्त्रणमा लिएकी सीमाकी आमाले छोरीले घरमै पासो लगाएर आत्महत्या गरेकाले प्रहरीको डरले आफुहरुले कसैलाई जानकारी नै नदिइ जंगलमा लगेर शव जलाएको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक कार्कीले भने घटना बारे अनुसन्धान जारी रहेको र फरार रहेकाहरुको खोजी कार्य भइरहेको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here