नरेश गुप्ता
बरियारपुर,नेकपा एमालेका पचरौता नगरपालिकाका नगर प्रमख पदका प्रत्यासी जलान्धर सिंहले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई १० देखि १५ लाखसम्म अनुदान दिने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
एमबिबिएस पढने विद्यार्थीलाई जनही १० लाख तथा मुस्लिम, दलित र महिला १५ लाख छात्रवृत्ति बापत आर्थिक सहयोग गर्ने सिंहले आफ्नो घोषणा पत्रमा उल्लेख गर्नुभएको छ ।
नेकपा एमाले नगर कमिटी पचरौताले आयोजना गरेको पत्रकार सम्मेलनमा शनिवार प्रतिबद्धता पत्र २०७९ सार्वजनिक गर्नुभएको हो । पचरौता नगरपालिकालाई सयौं वर्षदेखि आर्थिक, समाजिक, शैक्षिक, राजनीतिक तथा सांस्कृतिक दृष्टिकोणले पछाडि पारिएको तथ्य बताउदै उहाँले स्थानीय सरकार संचालन भएको ५ वर्ष बितिसक्दा पनि यहाँको शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक न्यायको अवस्था लगायत बिकास र सम्वृद्धिको हरेक क्षेत्रमा अवस्था दयनीय र निरासाजनक रहेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
मेयर पदका प्रत्यासी सिंहले चुनावी दौडमा आफू निर्वाचित भएपछि पचरौताबासीको कल्याण, उन्नति एवं संवृद्धि गर्ने कार्यक्रमहरु नेकपा एमालेले घोषणा पत्रमार्फत सार्वजनिक गरेको उहाँले जानकारी दिनुभयो ।
नेकपा एमाले बारा जिल्ला ईन्चार्ज बलवीर चौधरीको प्रमुख आतिथ्यतामा घोषणा पत्र सार्वजनिक गरिएको हो । पचरौता नगरपालिकामा विधि, नियम, कानुन बमोजिमको सुशासन व्यवस्था कायम गर्ने, करमुक्त र भ्रष्टाचारमुक्त नगरपालिका निर्माण गर्ने प्रतिबद्धता पनि सिंहले जाहेर गर्नुभएको थियो ।
त्यसैगरी विशेषज्ञ सहितको सय बेडको सुविधा सम्पन्न नगर अस्पताल पनि संचालन गरिने उल्लेख छ । अस्पतालमा आई सि यु, एन आई सि यु, सिटी स्क्यान, अप्रेसन थियटरसमेत संचालन गरिने पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी नगरमा प्राविधिक शिक्षालय स्थापना गरिने र प्राविधिक शिक्षातर्फ हेल्थ सहायक, अहेव, नर्सिङ, जेटिए लगायतको प्राविधिक शिक्षा संचालन पनि उहाँले बताउनुभयो ।
त्यसैगरी कृषि क्षेत्रतर्फ एक वडामा एक जेटिए व्यवस्था गरिने, कृषिलाई आधुनीकरण, बजारीकरण र उत्पादकत्व वृद्धिलाई प्रोत्साहन गर्न राहत कार्यक्रम संचालनमा ल्याउने बताइएको छ ।
समाजिक विकासको क्षेत्रतर्फ एकीकृत दलित बस्ती निर्माण गरिने अवधारणा ल्याइने घोषणा पत्र मा उल्लेख गरिएको छ । नगरका सबै गाउँमा सडक पक्की ढलान सडक संजाल निर्माण गरि नगरबस संचालन गरिने, प्रत्येक घरमा शुद्ध पिउने पानी र शौचालयको व्यवस्थापन गरिने, धर्म संस्कृतिलाई संरक्षण गर्दै भाईचाराको सम्बन्ध, ज्येष्ठ नागरिकलाई धार्मिक तिर्थस्थल भ्रमण गराउन आर्थिक सहयोग नगरपालिकाले उपलब्ध गराउने पनि उल्लेख छ ।
त्यसैगरी खेलकुद क्षेत्रको विकास गर्न नगर स्तरीय रंगशाला निर्माण गर्ने, खेलाडीलाई खेलकुद सामग्री वितरण तथा प्रशिक्षकको व्यवस्था मिलाउनेलगायत बालबालिकाको लागि चिल्ड्रेन पार्क, पिकनिक स्थल आदिको व्यवस्था गर्ने पनि प्रतिवद्धता पत्रमा उल्लेख छ ।



















