नरेश गुप्ता
बरियारपुर,बहालवाला मन्त्रीको सरकारी सवारीसाधन बारामा स्थानीय तहको चुनाव प्रचारमा प्रयोग भइरहेको भएपनि निर्वाचन कार्यालय मौन बसेको छ ।
जिल्लामा आचारसंहिताको व्यापक उल्लंघन भइरहेको अवस्थामा पनि निर्वाचन कार्यालय बारा तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय मौन बसेको हो ।
संघीय सरकारका बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी र मधेश प्रदेशकी अर्थ राज्य मन्त्री उषा यादव सरकारी गाडी नै लिएर चुनावी प्रचारप्रसार हिडनुभएको छ । यसरी मन्त्रीले सरकारी साधनको दुरुपयोग गर्दै चुनाव प्रचार गर्दै आएको भएपनि निर्वाचन कार्यालय बारा तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय ध्यानाकर्षण हुन सकेको छैन । जसले गर्दा बारामा निर्वाचन शान्तिपूर्ण तथा भयरहित हुनेमा आशंका उत्पन्न भएको छ ।
सँघीय सरकारका बहालवाला मन्त्री चौधरी जिल्लाका सबै स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारको चुनाव प्रचारप्रसारमा सरकारी सवारी साधन लिएर हिडनुभएको छ भने मधेश प्रदेशका अर्थ राज्यमन्त्री उषा यादव पनि मन्त्रालयको प्रदेश २(०२( ००१झ( ०१७४ गाडी लिएर जिल्लामा जसपा नेपालका उम्मेदवारहरुको चुनाव प्रचारप्रसारमा हिडदै आउनुभएको छ ।
निर्वाचन आचारसंहिता अन्तर्गत कुनै पनि सरकारी गाडी र बिदेशी गाडी निर्वाचन प्रचारप्रसार प्रयोग गर्न नपाइने उल्लेख छ । तर बारामा भारतीय सवारी नम्बर प्लेटका सवारी साधनहरुको व्यापक प्रयोग हुदै आएको छ ।