वीरगञ्ज,
वीरगञ्जको सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) मा कार्यरत ५५ वर्षीय मजदुर शम्भु साह तेलीको आइतबार साँझ मृत्यु भएको छ ।
पर्साको बहुदरमाई नगरपालिका–७ फुलकैल निवासी तेली ट्रकमा मलको बोरा लोड गर्ने क्रममा अचानक चक्कर लागेर ढलेका थिए । उनलाई तत्काल नारायणी अस्पताल पु¥याइए पनि उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । प्रहरीले हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ ।
घटना आइतबार साँझ ६ः३० बजे बा ०३–००१ ख २६९८ नम्बरको ट्रकमा मल लोड गर्ने बेला भएको हो । मृतक तेली पटेल लेबर सप्लायर्समार्फत ड्राइपोर्टमा कार्यरत थिए । उक्त ठेकेदार कम्पनीका सञ्चालक करण चौधरी र सुरेश पटेल रहेको बताइएको छ ।
मृतकका आफन्त र सहकर्मी मजदुरहरूले क्षतिपूर्तिको माग गर्दै सोमबार बिहान ड्राइपोर्ट भन्सार क्षेत्रमा केही समय प्रदर्शन गरेका थिए । प्रदर्शनपछि पूर्व मन्त्री तथा पूर्व सांसद राजकुमार गुप्ता, बहुदरमाई नगरपालिका वडा नम्बर ७ का पूर्व वडाध्यक्ष बाबुलाल यादव र वडा नम्बर ८ का वडा अध्यक्ष पुनीलाल साह तेलीको मध्यस्थतामा वार्ता भएको थियो ।
वार्तामा ड्राइपोर्ट सञ्चालनको ठेक्का लिएको प्रिन्स्टिन भ्यालीले एक साताभित्र नियमअनुसार मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
प्रिन्स्टिन भ्यालीका सेक्युरिटी सुपरभाइजर धर्मेन्द्र गिरीका अनुसार, सहमति जुटेपछि मृतकका परिवारले शव बुझेर लगेका छन् ।

Leave a Reply