कृष्णउदास खनाल
वीरगन्ज,अघिल्लो स्थानीय तह चुनाव २०७४ सालमा तेस्रो चरणमा स्थानीय तहको चुनाव भएको प्रदेश हो, मधेश प्रदेश । मधेश आन्दोलनको रापताप रहेको अवस्थामा र मधेशवादी दलको प्रभाव देखिएको बेलामा भएको निर्वाचनमा पनि नेपाली कांग्रेस पहिलो भएको थियो ।
प्रदेशको कुल १३६ स्थानीय तहमध्ये ४० प्रमुख पद जित्दै सो चुनावमा कांग्रेस पहिलो पार्टी भएको थियो । तत्कालीन संघीय समाजवादी फोरम २६ र राष्ट्रिय जनता पार्टी (राजपा) २५ प्रमुख सिट जित्दै क्रमशः दोस्रो र तेस्रो भएका थिए । २१ सिट जितेको नेकपा माओवादी केन्द्र चौथो, १८ सिट जितेको नेकपा एमाले पाँचौ स्थानमा थियो । उक्त चुनावमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र तत्कालीन नयाँ शक्ति पार्टीले १ प्रमुख जितेको थियो ।
०७४ को परिणाम
२ असोज २०७४ मा यो प्रदेशमा भएको निर्वाचनमा नेपाली कांग्रेस २६ नगरपालिकामा मेयर, २२ नगरमा उप मेयर, १४ गाउँपालिकामा अध्यक्ष र १३ गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । यसैगरी ३ सय ३८ वडामा उसले अध्यक्ष जितेको थियो । तत्कालीन संघीय समाजवादी फोरम नेपाल (अहिलेको जसपा) ले १० मेयर, ५ उपमेयर, १६ गाउँपालिका अध्यक्ष, २० उपाध्यक्ष र १९१ वडा अध्यक्ष जितेको थियो । तत्कालीन राष्ट्रिय जनता पार्टी (अहिलेको लोसपा) ले १४ मेयर, १७ उपमेयर, ११ गाउँपालिका अध्यक्ष, १३ उपाध्यक्ष र १ सय ९४ वडा अध्यक्ष जितेको थियो ।
नेकपा माओवादी केन्द्र १३ मेयर, १८ उपमेयर, ८ गाउँपालिका अध्यक्ष, ६ उपाध्यक्ष र २ सय ३१ वडा अध्यक्ष जित्दा नेकपा एमालेले १२ नगरपालिकामा मेयर, १४ जना उपमेयर, ६ गाउँपालिका अध्यक्ष, ५ उपाध्यक्ष र २ सय ३० वडा अध्यक्ष जितेको थियो ।
नेपाल लोकतान्त्रिक फोरमले १ मेयर, १ उपमेयर, २ गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष तथा ३२ जना वडा अध्यक्ष जित्दा नेपाली जनता दलले १ मेयर, १ गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष जितेको थियो । तत्कालीन नयाँ शक्ति पार्टी (अहिले जसपामा समाहित) ले १ गाउँपालिका अध्यक्ष (सप्तरीको छिन्नमस्ता गाउँपालिका) र ५ वटा वडा अध्यक्ष जितेको थियो ।
यस्तै, राप्रपाले ६ वटा वडा अध्यक्ष, राष्ट्रिय जनमुक्ति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले २÷२ वटा वडा अध्यक्ष जित्दा बहुजन शक्ति पार्टीले १ वडा अध्यक्ष जितेको थियो । प्रदेशमा ३२ जनाले स्वतन्त्रबाट वडा अध्यक्ष जितेका थिए ।
हालको अवस्था
अब यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको अवस्था पहिलेको जस्तो छैन । नेपाली कांग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरम समाहित भएको छ । नेपाली जनता दलबाट निर्वाचित पर्साको पोखरियाका मेयर दीपनारायण रौनियार कांग्रेस प्रवेश गरिसक्नुभएको छ । दोस्रो र तेस्रो स्थानमा रहेका तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राजपा एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेकोमा त्यो पार्टी पुनः फुटेको छ र तत्कालीन राजपा पक्षले छुट्टै लोसपा बनाएको छ । जसपा बनेर फुट्दा तत्कालीन राजपाका केही मेयर र अध्यक्ष जसपामै बसेका छन् । जसपामा त्यसबेला १ सिट जितेको नयाँ शक्ति पार्टी पनि मिलिसकेको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेपनि अहिले दुबै पार्टी छुट्टाछुट्टै भएका छन् । अझ नेकपा एमाले फुटेर एउटा छुट्टै दलको रुपमा नेकपा एकीकृत समाजवादी पनि निर्माण भएको छ । मेयरहरुको दल बदल गर्ने क्रम पनि जारी छ । तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित वीरगन्जका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरिसकेका छन् भने लोसपाबाट निर्वाचित जनकपुरधामका मेयर लालकिशोर साह जसपामा आउनुभएको छ ।
प्रदेशमा नयाँ दलको रुपमा डा. सिके राउतको जनमत पार्टी उदाएको छ । किसान आन्दोलनको नाममा आन्दोलन गर्दै आएको यो पार्टीले प्रदेशका सबै स्थानीय तहमा उम्मेदवारी दिने तयारी थालेको छ । यस्तो अवस्थामा अहिले यो प्रदेशमा नेपाली कांग्रेस र जसपा अरुभन्दा बलिया देखिएका छन् । तर, गठबन्धन गर्ने कुरा भइरहँदा कसले कति सिट जित्नेछन् भनेर आँकलन गर्न गाह्रो छ ।
नेपाली कांग्रेस, जसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर चुनाव लड्ने बताउँदै आएका छन । निर्वाचनमा गठबन्धन बनाउन प्रदेशस्तरीय नेताहरुको बैठक बसेपनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेका छैनन् । गठबन्धन गर्ने सवालमा दलहरुले आफू जितेको ठाउँमा निरन्तरता दिन माग गरिरहेका छन् । जसपाका नेताहरुले प्रदेशका मुख्य शहर वीरगन्ज, जनकपुरधाम र राजविराज आफूलाई छाड्न भनिरहेका छन् भने आफूले जितेको बाराको कलैया उपमहानगरपालिका छाड्न कांग्रेसले भनिरहेको छ । गठबन्धनका नेताहरुको मनोविज्ञान चाहिं आफैं जित्न सक्ने ठाउँमा भरसक गठबन्धन नगर्ने र नेकपा एमाले बलियो भएको ठाउँमा मात्रै गठबन्धन गरेर अघि बढ्न पाए हुन्थ्यो भन्ने देखिन्छ ।
गठबन्धनको सकस
प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जनमा चुनावी चतालमेलका बिषयमा सबैको आआफ्नै तर्क छ । काँग्रेस एक्लै चुनाव लड्ने पक्षमा छ भने जसपा पनि एक्लै उठ्ने सोचमा छ । माओवादी र नेकपा एसको भने मतभार कमै छ वीरगन्ज महानगरमा । एमालेले बलियो ठानेको छ । तत्कालिन संघीय समाजवादीबाट उठेका र हालका मेयर बिजय कुमार सरावगी एमालेमा प्रवेश गरेकाले र उहाँ फेरि उठ्ने तयारी गरेको हुँदा चुनाव आफूले जित्ने एमालेको बुझाइ छ ।