बसन्त लामा

सिंगौल,धनसार खोलाबाट ढुङगा, गिट्टी र बालुवाको प्रयोग गर्न नपाउदा निजगढ नगरपालिकाको सिंगौलका स्थानीय समस्यामा परेका छन । नदीजन्य पदार्थको अभावमा घर निर्माण लगायत विकास निर्माणका कार्य पनि प्रभावित बनेको स्थानीयको भनाई छ ।सिगौलमा रहेको अस्थायी प्रहरी चौकीका प्रहरीले घरायसी प्रयोजनको लागि धनसार खोलाबाट ल्याउने गरेको ढुङगा, गिट्टी बालुवामा कडाइ गरेपछि समस्या बढेको स्थानीयले बताएका छन ।खोलाबाट ढुङगा, बालुवा र गिट्टी ल्याएर प्रयोग गर्न प्रहरीले रोकेपछि कतिपय स्थानीयको निर्माणाधीन घर अधुरो बनेको छ ।केहि दिन पहिले घरायसी प्रयोगको लागि धनसार खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निकाल्न पाउनु पर्ने माग राख्दै सिंगौलका ट्याक्टर व्यवसायीले गरेको आन्दोलनमा केहि ट्याक्टर चालकहरुले ढुङगा, गिट्टी र बालुवा ल्याउदा आफूहरुसंग सिंगौलका प्रहरीले रकम माग्ने गरेको भन्ने आरोप लगाएपछि प्रहरीले नदीजन्य पदार्थको ओसारपसारमा कडाइ गर्न थालेको हो ।प्रहरीले रकम मागेको भन्दै गत हप्ता एक दर्जनभन्दा बढी ट्याक्टर व्यवसायीहरुले निजगढ नगरपालिकाका कार्यालय अडाडि खाली ट्याक्टर तेर्साएर विरोध जनाएका थिए ।ट्याक्टर व्यवसायीको आन्दोलनपछि पनि नगरपालिका कार्यालयले स्थानीयले प्रयोग गर्ने नदीजन्य पदार्थको उत्खखन कार्य सुचारु नगरेपछि आफूहरु समस्यामा परेको सिंगौलका रामकुमार गुरोको भनाई छ ।


















