निजगढ,बाराको निजगढ नगरपालिका– ५ बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा शुक्रवार नियमितभन्दा फरक पोशाकमा विद्यालयमा उपस्थित हुनुभयो ।प्रअ लामाले तामाङ्ग समुदायले प्रयोग गर्ने कोट र टाउकोमा गोलाकार आकृतिको टोपी लगाउनुभएको थियो । प्रअ लामा जस्तै विद्यालयका सहायक प्रअ लालबाबु चौधरी, शिक्षिका बालकुमारी सिंजालीलगायत सबै शिक्षक÷कर्मचारीहरु पनि आफ्नै जातिअनुसारको पहिरनमा विद्यालयमा पुग्नुभएको थियो । शिक्षक बालकुमारीले पोशाकसंगै गहना पनि जातीय पहिचान झल्काउने खालका लगाउनुभएको थियो ।
विद्यालयले जातिअनुसारको परम्परागत पोशाक लगाउने व्यवस्था गरेपछि शिक्षकहरु पहिलो पटक आफ्नो जातिअनुसारको पोशाक लगाएर विद्यालयको पठनपाठनमा सरिक भएका थिए ।जातीय विविधताको उजागर गरेर पहिचानको प्रबद्र्धन गर्न र सबै समुदायको संस्कृतिप्रति सम्मान जगाउन विद्यालयका शिक्षकहरुले जाती अनुसारको पोशाक लगाउन शुरु गरेको प्रधानाध्यापक हस्तबहादुर लामाले बताउनुभयो । यसबाट नेपालको संस्कृतिको प्रवद्र्धन हुनुको विद्यार्थीहरुले पनि व्यवहारिक रुपमा नै जातीअनुसारको पोशाकको बारेमा ज्ञान हासिल गर्नसक्ने उहाँको भनाई छ ।
प्रअ लामाले विद्यालयका शिक्षकहरुले अब नियमित रुपमा आफ्नो जातीअनुसारको पोशाक लगाउनुपर्ने नियम बनाइएको पनि जानकारी दिनुभयो । हरेक हप्ताको शुक्रवार शिक्षकहरुले अब आफ्नो जातीअनुसारको पोशाक लगाएर विद्यालयको पठनपाठनमा सरिक हुनुपर्र्ने उहाँको भनाई छ ।त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमले पोशाकमार्फत नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण गर्न विद्यालयले अभियान शुरु गरेको बताउनुभएको छ । शिक्षकहरुबाट सुरु भएको यो अभियान विद्यार्थीहरुमा पनि विस्तार गरिने उहँको भनाई छ ।शिक्षकहरुहरुको पहिरनबाट विद्यार्थीहरुमा फरक जातीय पोशाकको बारेमा जानकारी प्राप्त गर्न, एकले अर्को जातिको विशेषता चिन्न, बुझ्न र सम्मान गर्न मद्दत मिल्ने विद्यालयको विश्वास छ ।
गुरुहरुले जातीय पोसाक लगाउन शुरु गरेपछि आफूहरुले विभिन्न जातजातिको मौलिक पोशाकबारे जानकारी प्राप्त गर्न सजिलो भएको र लगाउने तरिका बारे पनि ज्ञान मिलेको कक्षा– १० की छात्रा सरीश्मा चौलागाई बताउनुहुन्छ । यसबाट पोसाकबारे प्रतक्ष्य रुपमा व्यावहारिक ज्ञान प्राप्त भएको चौलागाईले बताउनुभयो ।६ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत यो विद्यालयमा १६ महिला शिक्षिक सहित ३० शिक्षक शिक्षिका र ४ जना कर्मचारी छन । विद्यालयमा नेपालका मुख्य जाति मध्ये अधिकांश जातका विद्यार्थी र शिक्षकहरु छन ।

















