काठमाण्डौ,नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा आइतवार भएका खेलमा महिलातर्फ न्यु डायमन्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबले लगातार तेस्रो जीत हात पारेका छन् ।पोखरा रङ्गशालाको कभर्ड हलमा भएको खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । यस्तै पुलिसले नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो ।
यस्तै प्रतियोगिताको पुरुषतर्फ पुलिस र हेल्प नेपाल स्पोट्र्स क्लब विजयी भएका छन् । पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै दोस्रो जीत हात पारेको छ । यस्तै हेल्प नेपालले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै लगातार चौथो जीत हात पारेको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा आउँदो १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । सबैले एकअर्कासँग खेलेपछि अङ्क तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply