पुष्पराज खतिवडा
मनहर्वा,६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बारामा प्रभातफेरी सहित विशेष कार्यक्रम गरी मनाइएको छ ।
जिल्ला सदरमुकाम कलैयास्थित जिल्ला सहकारी संघ बाराको कार्यालय परिशरबाट सुरु भएको प्रभातफेरी कलैया बजार हुँदै होटल दरबार इन बरेवा पुगेर सभामा परिणाम भएको थियो ।
प्रभातफेरीमा सहकारीकर्मीहरुले सहकारी दिवस सफल पारौं । सहकारीलाई उत्पादनमूलक कार्यमा लगाऔं । मदिरामुक्त समाज निर्माण गरौंं । दाइजोमुक्त समाज निर्माण गरौं भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले विभिन्न चेतनामूलक नारा समेत लगाएका थिए ।
सभाको मधेस प्रदेशका प्रदेश सभा सदस्य पारस साहले उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि समेत रहनु भएका प्रदेशसभा सदस्य साहले युवा विदेश पलायन रोक्न सहकारीको योगदान रहेको र सहकारीले रोजगारी अभिवृद्धिको लागि अझै धेरै काम गर्न सक्ने बताउनुभयो । तर सहकारीले गर्न सक्ने कामको लागि वातावरण निर्माणमा राज्यले भूमिका नखेको उहाँको भनाइ थियोे ।
ठूला बैंक र वित्तीय संस्थाहरु किसानमैत्री नभएको उहाँको आरोप छ । उनीहरुलाई वाध्यत्मक व्यवस्था गरी किसानले सरल ढंगले कृषि कर्जा पाउन सक्ने व्यवस्था गर्नु पर्ने उहाँले बताउनुभयो । आफूहरुले मधेस प्रदेश सहकारी ऐन पास गर्न महत्वपुर्ण भूमिका खेलेको बताउंदै साहले ढिलै भए पनि सहकारी ऐन पास भएकोमा खुशी व्यक्त गर्नुभयो ।
प्रदेश सदस्य साहले सहकारी कार्यालय बारामा खोल्न र मालपोतमा सहकारी ऐन विपरीत प्रदेश सरकारले लिँदै आएको रजिस्टेसन शुल्क मिनाहा गर्नका लागि पहल गर्ने पनि बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यालय बाराका प्रमुख हेमचन्द्र जैसवाल, उद्योग बाणिज्य संघ बाराका महासचिव रामाशिष साह, पशु तथा भेटनरी विज्ञ केन्द्र कलैयाका वरिष्ठ पशु विकास अधिकृत शंकर साह, कृषि ज्ञान केन्द्र बाराका अधिकृत राजनारायण साह, राष्ट्रिय सहकारी बैंक शाखा कलैयाका प्रमुख श्याम न्यौपाने, सिमराका सुरेश लागे लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडाले सहकारीको वर्तमान अवस्था र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सहकारीले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेली रहेको भन्दै वक्ताहरुले उत्पादन वृद्धि, बजारीकरण र कृषि पेसालाई यान्त्रीकरण गर्ने काम गर्नुपर्ने धारण राखेका थिए ।
यस्तै कार्यक्रम साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी र बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुरको संयुक्त अध्यक्षतामा भएको हो ।
बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष ठाकुरको स्वागत र साना किसान कृषि सहकारी संस्था इनर्वासिराका प्रवन्धक झपेन्द्र बरालको संचालनमा सम्पन्न भएको हो ।