वीरगञ्ज,खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएकी बारा कलैयाकी टिकटकर किरण साहले सुनियोजित ढङ्गले मन्त्रीलाई बदनाम गराउन अडियो लिक गरेको खुलासा भएको छ ।विभिन्न स्रोतबाट प्राप्त अडियो क्लिपहरूमा साहले एक अज्ञात व्यक्तिसँग मन्त्री यादवसँगको फोन संवादको रेकर्डिङ पठाउँदै सामाजिक सञ्जालमा भाइरल बनाएर मन्त्री यादवलाई बदनाम गराउने योजना बनाएको पाइएको हो ।
प्राप्त अडिओमा साहले एक व्यक्तिलाई भनेकी छन्, “सबै अडियो सुनेर भन्नुस्, राख्न मिल्छ भने राखिदिनुस् । मलाई कुनै अप्ठ्यारो छैन, कोहीसँग डर पनि छैन । तर यसमा धम्की वाला संवाद छ ।” उनले मन्त्रीसँगको संवादमा आवेशमा आएर धम्की दिएको र त्यसलाई सामाजिक सञ्जालमा राख्न मिल्ने÷नमिल्ने बारे सोधेको स्पष्ट हुन्छ ।
अर्को अडिओमा उनले स्वयम् मन्त्रीलाई ज्यान मार्ने धम्की दिएको स्वीकार गरेकी छन् । “मैले आफै ज्यानले मार्दिन्छु भनेर बोलेको छु, त्यो त सोझै धम्की भयो, त्यसमा कुनै अप्ठ्यारो त हुँदैन ?” उनले प्रश्न गरेको सुनिन्छ ।
साहले वीरगञ्जका मेयर राजेशमान सिंह र मन्त्री यादवको नाम जोडेर दुवैलाई बदनाम गराउने उद्देश्यले अडियो रेकर्ड गरेको र लिक गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।शुक्रवार सामाजिक सञ्जालमा भाइरल भएको अडिओमा साहले मन्त्री यादवलाई भोजपुरी भाषामा “मन्त्रीज्यू ज्यानले मार्दिन्छु, डर लाग्दैन” भन्दै धम्की दिएको सुनिन्छ । तर, लिक भएको अडिओमा धम्कीको अंश काटिएको थियो । पछि प्रहरी स्रोतबाट प्राप्त पूर्ण अडिओमा साहको धम्की स्पष्ट भएको हो ।
साहले वीरगञ्जमा हैजा सङ्क्रमण फैलिएको र त्यसको कारण मन्त्री यादव र मेयर सिंहद्वारा जडान गरिएको बोरिङको पानी जिम्मेवार रहेको भन्दै सामाजिक सञ्जालमा भिडियो बनाएर भाइरल बनाएकी थिइन् । उनले हैजाका कारण धेरैको मृत्यु भएको झुटो दाबी गरेको प्रहरीले जनाएको छ ।
साह अस्पताल भर्ना
वीरगञ्ज,
खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहलाई टेलिफोन र सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीको हिरासतमा राखिएकी टिकटकर किरण साह अस्पतालमा भर्ना भएकी छन् ।मङ्गलवार साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि साहलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको केही समयमा स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरेर उनलाई पुनः जिल्ला प्रहरी कार्यालय लगिएको थियो ।
यद्यपि, बुधवार बिहान फेरी स्वास्थ्यमा समस्या आएपछि उनलाई पुनः अस्पतालमा भर्ना गरिएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।
साहलाई बान्ता र पेट दुख्ने समस्या भएपछि उनलाई अस्पतालमा लागिएको डिएसपी लम्सालले बताए । उनको स्वास्थ्य अवस्था सुधारोनोमुक रहेको छ ।
बाराको कलैया उपमहानगरपालिका– २६ घर भई हाल वीरगञ्ज महानगरपालिका– १३ मुर्ली बस्दै आएकी साहले वीरगञ्जमा हैजा सङ्क्रमण फैलिएको र त्यसको कारण मन्त्री यादव र मेयर सिंहद्वारा जडान गरिएको बोरिङको पानी जिम्मेवार रहेको भन्दै सामाजिक सञ्जालमा भिडियो बनाएर भाइरल बनाएकी थिइन् ।
घटनापछि पर्सा प्रहरीले शनिवार साहलाई हिरासतमा लिएको थियो । मन्त्री यादवका स्वकीय अधिकृत हरेन्द्र साहको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले बताउनुभयो ।
आइतबार प्रहरीले साहविरुद्ध साइबर क्राइम, सङ्घीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा अफवाह फैलाउने आरोपमा तीन वटा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्साबाट तीन दिनको म्याद लिएको थियो । मङ्गलवार म्याद सकिएपछि थप तीन दिन हिरासतमा राख्ने अनुमति प्राप्त भएको छ ।


















