पुष्पराज खतिवडा

मनहर्वा,बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा भएको आगलागीमा परी घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । शनिबार राति करिब साढे आठ बजे आगलागी हुँदा दुईजना भारतीय मजदुरको ज्यान गएको थियो भने अन्य तीनजना मजदुर घाइते भएका थिए ।

पाईप वेल्डिनङ गर्ने क्रममा विद्युत सर्ट भई भारतको बिहार पश्चिम चम्पारणका ४० बर्षीय प्रदीप गोंढ र बिहार सिमान जिल्लाका ४५ बर्षीय रामनाथ महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो । आगलागीमा परी रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था गम्भीर भएका कारण थप उपचारका लागि काठमाडौं पठाइएको बारा प्रहरीले जनाएको छ ।

यसैबीच उद्योगमा बर्षेनी दर्जनौं मानिसको ज्यान जाने गरी हुदै आएका दुर्घटनापछि सिमराका स्थानीय अगुवाहरुले गम्भीर चासो व्यक्त गरेका छन् । गत फागुन १० गते राती करैयामाई गाउँपालिका वडा नं. ५ ढोडिया निवासी २८ वर्षका अनेश चौधरीको प्रेशर मेशिनमा च्यापिएर ज्यान गएको थियो । त्यस्तै केही समयअघि कवाड गराउने भट्टी विस्फोट हुँदा अर्का एक भारतीय मजदुरको पनि मृत्यु भएको थियो भने अन्य दुईजना घाईते भएका थिए ।

कारखानामा पटक पटक आगलागी र भट्टी पड्कँदा मजदुरहरुको मृत्यु हुदै आएको छ । उद्योगको लापरबाहीका कारण मजदुरहरूको मृत्यु हुने गरेको स्थानीयले बताएका छन । उनीहरुले कवाड गलाउने भट्टी बन्द गर्न पनि कारखाना व्यवस्थापन पक्षलाई दबाब दिँदै आएका छन् । उद्योगले भने अटेर गर्दै आएको छ । प्रदुषण नियन्त्रण र मजदुरको सुरक्षा र जोखिम नियन्त्रणमा उद्योगले बेवास्था गरेकै कारण मजदुरको ज्यान जाने गरेको स्थानीय एमाले नेता मनोज पौडेलले बताउनुभयो । साविक पिपरासिमराको गाविसका अध्यक्ष एंव सामाजिक अगुवा भोला अधिकारीले उद्योगले मजदुरको सुरक्षामा गम्भीर लापवाही गरिरहेको बताउनुभयो । यस्तै सिमराका माओवादी नेता राजन पौडेलले औद्योगिक करिडोरका उद्योगमा कार्यस्थलमै बर्षेनी दर्जनौं मजदुरको ज्यान जानु गम्भीर विषय भएको बताउनुहुन्छ । कार्यस्थलनमा हुने जोखिम न्युनीकरण र मजदुरको सुरक्षामा उद्योगी र सरकारको ध्यान नजानु लापरवाही हो ।’ पौडेलले भन्नुभयो । जगदम्बा स्टीलबाट निस्कने प्रदुषण व्यवस्थापनलाई लिएर सिमराका स्थानीय र उद्योग व्यवस्थापन पक्षबीच पनि पटकपटक विवाद हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here