कलैया,बाराको कलैया उपमहानगरपालिकामा कबाडी कर र वातावरण संरक्षण करको नाममा कर असुल्न तीन दिनदेखि नियन्त्रणमा राखिएको एक ट्रक मंगलवार छाडिएको छ ।चितवनबाट बाराको सुवर्ण गाउँपालिका– १ बगही गाउँको करण मत्सय फर्मले ना ६ ख ३६५७ नम्बरको ट्रकमा ल्याउँदै गरेको २१ टन तोरीको पिना बोकेको ट्रकले २१ हजार कर तिर्नुपर्ने भन्दै आइतवारदेखि पिलुवा–कलैया सडक खण्डको उपमहानगरको सीमानामा पर्ने बडहर्वामा नियन्त्रणमा राखिएको ट्रक ३ दिनपछि छाडिएको हो ।कलैया उपमहानगरले चालु आर्थिक वर्षका लागि लगाएको कबाडी कर र वातावरण संरक्षण कर ठेक्कामा ठेकेदारले व्यवसायीबाट अवैध असुली गर्न तोरीको पिना बोकेको ट्रक आइतवारदेखि नियन्त्रणमा लिएका थिए ।व्यवसायीले कुनै हालतमा अवैध कर नतिर्ने र हर्जानासहित असुल उपर गर्न मुद्दा मामिलामा जाने अडान लिएपछि ठेकेदारले नगरपालिकाका पदाधिकारीको सल्लाहमा ट्रक छाडेको व्यवसायी कपिलदेव साहले जानकारी दिनुभयो ।उहाँले जिल्ला प्रशासन र उपमहानगरका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिका संयोजक लगायतलाई जबर्जस्ती कर असुलीबारे कानुनी व्यवस्थासहित ध्यानाकर्षण गराएपछि ट्रक छाडिएको बताउनुभयो ।उपमहानगर अन्तर्गत उत्पादित कबाडी सामान निकासीको लागि मात्र कर संकलन गर्न ठेक्का लगाए पनि ठेकेदारले बाहिरबाट आयातित वस्तुको पनि जबर्जस्ती कर संकलन गर्न थालेको बताइएको छ ।उक्त ठेक्काको जिम्मा वीरगन्ज १४ बहुअरीको विपिन कन्ट्रक्सनको नाममा राधेश्याम पटेललाई दिईएको थियो । कन्ट्रक्सनले डेढ करोडमा ठेक्का सकारेको हो ।कलैया उपमहानगरभित्र उत्पादित पिना नगरबाहिर निकासी गर्दा प्रतिकेजी १ रुपैयाँका दरले कर संकलन गर्नुपर्ने दर निर्धारण गरेको हो ।

Leave a Reply