कलैया,बाराको श्रीपुरमा रहेको रिलायन्स चिनी मिलले चालु सिजनमा हालसम्म १४ लाख क्विन्टल उखु क्रसिङ्ग गरिसकेको जनाएको छ ।जिल्लाको कलैया उपमहानगरपालिका १६ मनहर्वा, श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रा.लि.ले दैनिक २५ हजार क्वीन्टल उखु क्रसिङ्ग गर्दैआएको जनाएको छ ।यस वर्ष २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्यका साथ पुस १३ गतेबाट उखु क्रसिङ शुरु गरेको मिलले ५८ दिनमा १४ लाख क्विन्टल उखु क्रसिङ्ग गरी सकेको जनाएको छ । किसानको खेतमा उखु बाँकी रहेको र सो उखु क्रसिङ्ग गर्न अझै करिब एक महिना समय लाग्ने मिलका प्राविधिक प्रमुख अख्तर श्यामल हक (एडी) ले बताउनुभयो ।रिलायन्स सुगर मिलले बारा र पर्साका किसानहरुले करिब ७ हजार बिघाभन्दा बढी क्षेत्रफलमा उखु खेती गरेको जानकारी गराएको छ । चालु आर्थिक वर्ष ०७९÷०८० मा उखु खेती गरेका किसानका अनुसार करिब २२ लाख क्विन्टल उखु उत्पादन हुने देखिएको छ । चिनी मिलले अघिल्लो आर्थिक वर्ष ०७८÷०७९ मा बारा, पर्साका किसानले लगाएको साढे १३ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो ।किसानले उत्पादन गरेको उखुको मुल्य भने यस वर्ष ५४० कारखानाले दिने र सरकारको तर्फबाट ७० रुपैया अनुदान थप गरी प्रतिक्विन्टल ६१० मा उखु खरिद गर्ने गरिएको छ । हरेक वर्ष लगानी अनुसारको उखुको मूल्य बढाउन वा महँगो मूल्यमा बिक्री गर्न किसानले माग गरे पनि किसान हकहित संरक्षण समिति र सरकार पक्ष बीचमा सम्झौता भई एउटा निश्चित मूल्यमा खरिद, बिक्री गर्न सहमती हुँदै आएको कलैया उपमहानगरपालिका १३ का उखु किसान हिरामन राउत अहिरले बताउनुभयो ।
सर्लाहीमा सस्तोमा बेच्नुपर्ने बाध्यता
सर्लाही,सुगर मिलहरुले उखुको भुक्तानीमा समस्या सृजना गर्न थालेपछि सर्लाहीका किसान सख्खर (मिठ्ठा) बनाउने क्रसर उद्योगलाई सस्तो मुल्यमा उखु बिक्री गर्न बाध्य बनेका छन ।जिल्लाको दक्षिणी भेग र सीमावर्ती क्षेत्रका किसानले क्रसर उद्योगलाई न्यून मुल्यमा उखु बिक्री गरिरहेका हुन् । चिनी उद्योगमा उखु बिक्री गरेको महिनौँसम्म पनि भुक्तानी नपाउने समस्याले गर्दा क्रसर उद्योगलाई सस्तो मूल्यमा उखु बिक्री गर्नुपरेको किसानले बताएका छन् ।सरकारले यस वर्ष उखुको प्रतिक्विन्टल मूल्य ६१० रुपैयाँ निर्धारण गरेको छ । यहाँका किसानले क्रसर उद्योगलाई भने प्रतिक्विन्टल ३५० रुपैयाँदेखि ४०० रुपैयाँँमै उखु बिक्री गरिरहेका हुन ।जिल्लाको गोडैता नगरपालिका– ११ सिसौटियाका किसान रामजनम रायले तुरुन्त पैसा पाइने भएकाले क्रसर उद्योगलाई उखु बेच्ने गरेको बताउनुभयो । ‘चिनी मिललाई उखु दिँदा पैसा कहिले पाउने हो ठेगान हुँदैन तर क्रसरले भने हाताहातिमा किन्छन,’ रायले भन्नुभयो ‘घाटै सहेर भएपनि किसान खाडसारीमा आधाभन्दा कम मूल्यमा उखु बेच्न बाध्य छन ।’ क्रसर उद्योगलाई उखु बेच्नु आफूहरुको बाध्यता रहेको रायको गुनासो छ ।सर्लाहीमा अहिले एक दर्जन भन्दा बढी क्रसर उद्योगले किसानबाट उखु किनेर धमाधम सख्खर बनाइरहेका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले सरकारको कमजोरीका कारण किसान मारमा परेका बताउनुभयो । सरकारले उखुको मूल्य तोक्नेबाहेक अन्य दायित्व निर्वाह नगरेको मैनालीको आरोप छ ।‘सरकारले किसानको माग गरे अनुसार कहिल्यै पनि उखुको मूल्य तोक्दैन्, मैनालीले भन्नुभयो, ‘जे जति मूल्य तोकिन्छ त्यसको रकम लिन पनि किसानलाई समस्या छ ।’


















