कलैया,बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियापुरस्थित विश्वप्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिर परिशरमा टिकटकको लागि भिडियो खिच्न रोक लगाइएको छ ।
मन्दिर परिशरमा टिकटक भिडियो बनाउनेहरुको भिडले मन्दिर क्षेत्रको वातावरण दुषित भएको भन्दै टिकटक बनाउन निषेध गरिएको मन्दिरका मूल पूजारी मंगल चौधरीले जानकारी दिनुभयो ।
महागढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयले टिकटक रोक्न सूचना समेत जारी गरेको छ । ‘मन्दिर परिसरमा जुत्ता, चप्पल लगाएर आउन र टिकटक बनाउन सख्त मनाही छ,’ सूचनामा भनिएको छ ।’ ‘जुत्ता चप्पल लगाएको तथा टिकटक बनाएको पाइए कडा कारबाहीको साथै नियमानुसार जरिवाना पनि गरिने छ ।’ महागढीमाई नगरपालिकाले जारी गरेको सूनामा उल्लेख छ ।
भिडियो बनाउने युवा, युवतिका कारण समस्या बढ्दै गएपछि आफूहरुले नगरपालिका कार्यालयमा जानकारी पु¥याएको र अहिले नगरपालिकाले टिकटकमा रोक लगाएको पूजारी चौधरीले जानकारी दिनुभयो । टिकटक बनाउने क्रममा नाच्ने र एक्टिङ्ग गरेर भिडियो बनाउनेहरुबाट आफूहरु एकदम हैरान भएको पूजारी चौधरीले बताउनुुभयो । नगरपालिकाको निर्णय विपरीत कसैले टिकटक बनाएको पाइए दण्ड जरिवाना गरिने पूजारी चौधरीले बताउनुभयो । ‘टिकटके’ लाई नियन्त्रण गर्न भनेर नगरपालिकाले मन्दिर क्षेत्रमा नगर प्रहरी समेत खटाएको छ । स्थानीहरुले नगरपालिकाको निर्णयको प्रसंशासमेत गरेका छन् । स्थानीय सुनिल पाण्डेले टिकटक रोक्ने निर्णय स्वागत योग्य भएको प्रतिक्रिया दिनुभयो ।