काठमाडौँ – नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताउनुभयो ।
उहाँले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दाबी गर्नुभयो ।
विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उहाँको भनाइ छ । लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै १४ औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको बताउनुभयो ।
त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने चिन्ता भए आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्पसमेत आफूहरूले दिएको उहाँले बताउनुभयो । निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत राख्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको लेखकले बताउनुभयो ।
‘हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ उहाँले भन्नुभयो । पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै लेखकले अहिले पनि पार्टी मिलाउने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि उपाय छ । आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ । यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ ।’ अदालतको फैसला कुरेर अघि बढ्नुपर्ने धारणा पनि लेखकले राख्नुभयो ।
आधिकारिकतासम्बन्धी मुख्य मुद्दा अझै विचाराधीन रहेकाले अदालतको कुनै एउटा फैसला आफ्नो पक्षमा आएको भन्दै त्यसलाई सम्पूर्ण विवादको समाधानका रूपमा लिन नहुने उहाँको भनाइ थियो । लेखकले पार्टी विभाजन भए त्यसको जिम्मेवारी महाधिवेशनको प्रक्रिया सुरु गर्ने पक्षले लिनुपर्ने चेतावनीसमेत दिनुभयो । कांग्रेसलाई विभाजनबाट जोगाउने अन्तिम उपायका रूपमा महाधिवेशन रोक्न आफूले आग्रह गरिरहेको उहाँले बताउनुभयो ।
















