काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्रीको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । महानगरले प्रतिबन्ध उल्लंघन गरी त्यस्ता सामग्री बिक्री गरेको पाइएमा जफत गर्ने चेतावनी दिएको छ ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै स्वदेशी फूल तथा मालाको प्रयोगलाई प्राथमिकता दिन व्यवसायी, व्यापारी र सर्वसाधारणलाई आग्रह गरेको छ । नेपाली किसानले उत्पादन गरेका फूलले बजार पाउने र उपभोक्तालाई सहज रूपमा उपलब्ध हुने वातावरण बनाउन महानगरले विभिन्न स्थानमा बिक्रीस्थलसमेत निर्धारण गरेको छ ।
महानगरले नयाँ बानेश्वर, मध्य बानेश्वर, शंखमुल, तीनकुने, चाबहिल, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा, न्युप्लाजा, स्वयम्भू, कलङ्की, माछापोखरी, महाराजगञ्ज, सामाखुशी, बालुवाटारलगायतका क्षेत्रमा फूल बिक्री गर्ने व्यवस्था मिलाएको छ ।
त्यस्तै, कालिमाटी ब्याङ्क्वेट, हाँडीगाउँका डबली, टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई पनि फूल तथा माला बिक्रीस्थलका रूपमा तोकिएको छ ।
महानगरका अनुसार तोकिएका स्थानमा स्वदेशी फूल तथा माला बिक्री वितरण गर्न सकिनेछ । यसले नेपाली किसानको उत्पादनलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा जफत गरिने महानगर प्रहरी बलले स्पष्ट पारेको छ । यससम्बन्धी थप जानकारी तथा सहजीकरणका लागि महानगर प्रहरी बलको कार्यालयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

















