कलैया,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाका संस्थापक सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज गरेको छ ।रास्वपा केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठद्वारा जारी गरिएको पत्रअनुसार पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा स्वर्णकारमाथि कारबाही गरिएको हो ।
गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरेको जनाइएको छ । बाराको महागढीमाई नगरपालिका निवासी स्वर्णकार रास्वपाको स्थापनाकालदेखि नै जिल्ला तहको नेतृत्वदायी भूमिकामा रहनुभएको थियो । पार्टीहित विपरीत कार्य गरेको भन्दै केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसका आधारमा केन्द्रीय समितिले कदम चालेको बुझिएको छ ।
यसैबीच आफूमाथिको कारबाहीलाई स्वर्णकारले ‘राजनीतिक हत्या’ को संज्ञा दिनुभएको छ । पार्टीको निर्णय सार्वजनिक भएलगत्तै एक अपिल जारी गर्दै उहाँले केन्द्रको यो कदमलाई षड्यन्त्रको पराकाष्ठा र विना छानबिन गरिएको अन्यायपूर्ण निर्णय भनुभएको छ ।स्वर्णकारले आसन्न जिल्ला अधिवेशनमा आफू पुनः सभापति चुनिने डरले पार्टीभित्रका केही ‘माननीयहरू’ (सांसदहरू) को दबाबमा केन्द्रले यस्तो निर्णय लिएको आरोप लगाउनुभएकोछ । तथ्य र प्रमाणहरूलाई पूर्ण रूपमा नजरअन्दाज गर्दै, विना कुनै छानबिन आफूलाई निष्कासन उहाँको गुनासो छ ।
रास्वपाको निर्णयप्रति कडा आक्रोश पोख्दै स्वर्णकारले पार्टीको प्राविधिक दस्ताबेजबाट आफ्नो नाम हटाइए पनि बारा र महागढीमाईका जनताको मनबाट कसैले हटाउन नसक्ने दाबी पनि गर्नुभयो । उहाँले जेठ ९ गते हुने भनिएको रास्वपाको जिल्ला स्तरीय विस्तारित बैठकलाई ‘कथित’ को संज्ञा दिँदै त्यसको जवाफ बाराका सच्चा कार्यकर्ताले समयमै दिने चेतावनी समेत दिनुभएको छ । रास्वपाबाट निष्कासित भए पनि उहाँले आफ्नो राजनीतिक यात्रा नसकिएको जनाउदै आगामी स्थानीय निर्वाचनमा महागढीमाईका जनताले आफ्नो राजनीतिक फैसला गर्ने बताउनुभएको छ । जिल्ला अधिवेशनको मुखमा भएको यो कारबाही र स्वर्णकारको विद्रोहले बारामा रास्वपाभित्रको आन्तरिक विवादलाई छताछुल्ल पारेको छ । रास्वपाले जेठ ९ गते कलैयामा जिल्लाको विस्तारित बैठक डाकेर नयाँ समिति बनाउन प्रक्रिया सुरु गरेको छ ।















