काठमाण्डौ – नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको छ ।बिहीवार एमालेका उपाध्यक्षसमेत रहनुभएका नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग भेट गर्नुभएको हो । उहाँसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र डा. विमला राई पौड्याल हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) बाट भने अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा छलफलमा सहभागी रहनुभएको छ ।राष्ट्रपतिको चुनाव नजिकिएसँगै नेपाली कांग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेल र एमालेका नेम्वाङ राष्ट्रपतिका लागि सहयोग माग्न तीव्र भेटघाटमा हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) ले भने बुधवार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ ।भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा नेम्वाङलाई मतदान गर्न आग्रह गरेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष नेपालले मत माग्न आएकोमा धन्यवाद ज्ञापन गर्दै बिदा गरेको बताउनुभयो । उहाँले राष्ट्रपति चुनावमा आफ्नो पार्टी रामचन्द्र पौडेलेको प्रस्तावक रहेको र तत्काल यसै गर्छाैँ भन्ने सम्भावना नरहेको उल्लेख गर्दै एक पार्टीले अर्को पार्टीको नैतिकतालाई बुझेर अघि बढेको बताउनुभयो ।त्यस्तै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफूहरूले पार्टीबाट उम्मेदवार नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र कुराकानी सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले दुई पार्टीबीचको एकताको अभियानलाई अघि बढाउने कुरामा पनि सहमति भएको बताउनुभयो । उपमहासचिव गुरुङले दुई पार्टीबीच पार्टी एकताको अभियानको शुभारम्भ भएको पनि बताउनुभयो ।


















