सिराहा । चाडपर्व, विवाह तथा धार्मिक र सांस्कृतिक कार्यक्रममा फूलको माग बढ्दै गएपछि सिराहामा सयपत्री फूलको व्यावसायिक खेती विस्तार हुँदै गएको छ । कम लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् ।

विशेषगरी तिहार र छठ पर्वलाई लक्षित गरी लहान, धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा सयपत्री फूलको खेती व्यावसायिक रूपमा भइरहेको नर्सरी व्यवसायी सङ्घ सिराहाका अध्यक्ष सुरेश महतोले जानकारी दिए ।

उनका अनुसार जिल्लामा करिब तीन दर्जन नर्सरी व्यवसायीले सयपत्री फूल उत्पादन गर्दै आएका छन् । यसबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ ।

सिराहामा अहिले करिब २० बिघा क्षेत्रफलमा सयपत्री फूल खेती भइरहेको कपिलदेव नर्सरीका सञ्चालक रामकुमार चौधरीले बताए । उनका अनुसार एक कठ्ठामा करिब १० हजार रुपैयाँ लगानी गर्दा ४० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । थोरै जग्गा भएका किसानले पनि तरकारी खेतीसँगै केही कठ्ठामा फूल लगाएर आम्दानी गर्न थालेका छन् ।

तर, तिहार नजिकिँदै गर्दा फूल टिप्ने तयारी भइरहेका बेला अर्नभ चक्रवातका कारण भएको वर्षाले खेतमा लगाइएका फूलका बोट ढलेर क्षति पुगेको श्रीदेव नर्सरीकी सञ्चालिका पुनमकुमारी चौधरी बछारले बताइन् । उनका अनुसार परिवारले परम्परागत फलफूल नर्सरी व्यवसायसँगै अहिले सयपत्री फूल र ड्रागन फ्रुटको खेतीसमेत विस्तार गरेको छ ।

यसैबीच, नर्सरी व्यवसायीहरूले फूल खेतीको थप प्रवर्द्धनका लागि स्थानीय तहले माटो परीक्षण, किसानलाई तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । व्यवसायी रामपरीक्षण महतोले पालिकाहरूले नर्सरी, फलफूल र फूल खेतीसम्बन्धी नीति तथा कार्यक्रम ल्याउन सके रोजगारीका थप अवसर सिर्जना हुने बताए ।

उनका अनुसार जिल्लाका नर्सरीमा दुई सयभन्दा बढी कृषि मजदुरले वर्षभरि रोजगारी पाएका छन् । यहाँ उत्पादित फलफूल काठमाडौं, जनकपुर, पोखरा र राजविराजलगायतका बजारमा आपूर्ति हुँदै आएको छ ।

स्थानीय उत्पादन बढेसँगै भारतीय बजारबाट हुने सयपत्री फूलको आयातसमेत पूर्ण रूपमा बन्द भएको व्यवसायीहरूको दाबी छ । यसले सिराहाको फूल खेतीले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै आयात प्रतिस्थापनमा पनि योगदान पुर्‍याएको देखिन्छ ।

Leave a Reply