कलैया,बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिर परिसरमा राखिएको चार वटा दान पेटिकामध्ये सोमवार खोलिएको एउटा दानपेटिकाबाट तीन लाख ८७ हजार चार सय ७४ रुपैयाँ भेटी संकलन भएको छ ।महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवसहित गढीमाई विकास समितिका पदाधिकारीको उपस्थितिमा दर्शनार्थीले चढाएको भेटी सोमवार गणना गरिएको थियो । मन्दिर परिसरमा राखिएका चार वटा दानपेटिकामध्ये एउटाको गणना गरिएको र अन्यको मंगलवार गणना हुने नगर प्रमुख यादवले बताउनुभयो ।
उहाँका अनुसार दानपेटिकाबाट नेपालीसहित विभिन्न देशको मुद्रा र चाँदीले बनाइएको गढीमाईको पाँच जोडी आँखा संकलन भएको छ ।‘मुख्य मन्दिरमा राखिएको दानपेटिकाको दान रकम गनेर सकेका छौं, अन्यको भोलि गनिनेछ’ नगर प्रमुख यादवले भन्नुभयो, दानपेटिकाबाट संकलन भएको रकम गढीमाई विकास समितिको कोषमा जम्मा गरेर मन्दिरको विकास र संरक्षणमा खर्च गरिने छ ।’विजया दशमीको घटनास्थापनाको दिनदेखि कात्तिक ११ गतेसम्म मूल मन्दिरमा राखिएको दानपेटिकाको भेटी गणना गरिएको हो ।
भाकल पूरा भएपछि गढीमाईको दर्शनको लागि आउने भक्तजनहरुले मन्दिर विकास समितिले राखेको दान पेटिकामा नगद र बहुमूलय सामग्रीहरु समेत चढाउने गरेका छन ।दर्शनार्थीहरुले चढाएको भेटी र जिन्सी सामान नै मन्दिरको मुख्य आर्थिक स्रोतको रुपमा रहेको र यसैबाट मन्दिरमा वर्षभरि धार्मिक कार्यक्रमहरू आयोजना गरिने गरिएको छ ।गढीमाई मन्दिरमा प्रतेक ५-५ वर्षमा मेला लाग्दैआएको छ । यस वर्ष परेको पञ्जवर्षिय मेला आगामी मंसिर १ गतेबाट शुरु हुने भएको छ ।
मेलामा नेपाल र भारतबाट समेत ठुलो संख्यामा दर्शनार्थी आउने गरेका छन् । एक महिनासम्म लाग्ने मेलामा विशेष पूजापछि पशुपंक्षीको बली दिने गरिन्छ । यस वर्ष मंसिर २३ गतेदेखि २५ गतेसम्म विशेष पूजाको साइत जुरेको मेला समितिले जनाएको छ । आफूले गरेको भाकल पूरा भएपछि गढीमाई मन्दिरमा श्रद्धालुहरुले पशु बली दिने परम्परा छ ।



















