हुनत कलैया अस्पतालको सेवा प्रभावकारी नहुनुमा त्यहाँका डाक्टर तथा स्वासथ्यकर्मी तथा कर्मचारीहरुको मात्रै दोष छैन ।
व्यवस्थापनको जिम्मेवारी लिएका राजनीतिक दलहरुको पनि दोष उत्तिकै छ । बाराको एक मात्र सरकारी अस्पताल कलैया अस्पताल हो । सर्वसाधारणको उपचारको लागि जिल्लाका अन्य स्थानमा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरु मात्रै भएपनि जिल्लामा ५० शैयाको अस्पताल एउटा मात्रै छ । यसले निश्चित रुपमा अन्य स्वास्थ्य संस्थाहरुबाट भन्दा प्रभावकारी र भरपर्दो सेवा प्रवाह गर्नु पर्ने हुन्छ । सरकारले ठूलो लगानी गरेको अस्पतालबाट आम नागरिकहरुले आशा धेरै राख्नु स्वाभाविक पनि हो ।
तर यसअघि अस्पतालले जिल्लाबासीको चाहना र अपेक्षा अनुसार सेवा प्रदान गर्न नसकेको गुनासो छ । जिल्लाका विभिन्न ग्रामीण भेगबाट सेवा लिन कलैया अस्पताल पुगेका सेवाग्राहीहरु बाध्य भएर वीरगन्ज सहितका अन्य स्वास्थ्य संस्थाहरुमा धाउन बाध्य छन् । यसो हुनुमा कर्मचारी सहितका राजनीतिक दल पनि जिम्मेवार छन् । कलैया अस्पतालका मेसुले अब कलैया अस्पताल सुधार गर्ने बताएका छन् ।
उनले बताए जस्तै सुधार बारा जिल्लाबासीले पनि चाहेका हुन । हुन त मेसुले चाहेर मात्रै कलैया अस्पताल सुधार हुन सक्दैन । अस्पतालको सेवा प्रभावकारी तुल्याउन त्यहा कार्यरत सबै स्वास्थ्यकर्मी, कर्मचारी लगायतको सहयोग र एकीकृत प्रयासको खाचो छ । सबैको साथ र सहयोगले नै कलैया अस्पतालको सुधार हुने भएको हुँदा अब यसको सुधारमा सबै आजैबाट लागौं ।















