सोमवार दिउँसो कलैयाबाट एकदमै नराम्रो खबर आयो । एक निजी बिद्यालयका संचालकमाथि गोली प्रहार भएको घटना सार्वजनिक भयो अनि केही समयपछि गोली लागेका व्यक्तिको मृत्यु भएको खबर बाहिरिएपछि कलैयासहित यस आसपासका नागरिकहरुमा त्रास पैदा भयो । धेरैले भारतीय अपराधीहरुको घटनामा संलग्नता रहेको अनुमान लगाए । त्यसो त यो घटना यसै पनि अपराधिक नै हो । फेरि विगतमा जस्तै संगठित अपराधीहरुको चलखेल बारा र पर्सामा बढ्यो कि भन्ने त्रास नागरिकहरुमा देखिएको थियो । करिब २४ घण्टा पनि बित्न नपाउदै फेरि सो अपराधिक घटनामा तथाकथित प्रेमको कुरा आयो । सोचेभन्द फरक कुरा आएपछि सबै आश्चर्यमा परे अनि धेरथोर कमजोरी मृतकप्रति पनि देखियो भन्दै मृतकप्रतिको सहानुभूति घट्दै प्रहरीको कदमको वाहीवाही भयो । प्रहरीले २४ घण्टा पनि बित्न नपाउदै अपराधी पक्राउ गर्यो भनेर बारा प्रहरीको प्रशंसा भयो । प्रहरीले घटनाको कथा अर्को नै बताएपछि संगठित अपराधको त्रासबाट नागरिक मुक्त भए । प्रहरीले बुधवार कलैयामा पत्रकार सम्मेलन गरी विद्यालय संचालक रुपेश सरार्फको हत्यामा संलग्न रहेको भन्दै पाँचजनालाई सार्वजनिक गरेको एक घण्टापनि बित्दै नपाउदै परिवारले आपत्ति जनाए । प्रहरीको भनाइमा परिवार विश्वस्त भएन । स्वतन्त्र रुपमा हेर्दा पनि प्रहरी यो घटनाको गहिराइमा पुग्दै नपुगी हतारिएको देखिएको छ । घटनामा संलग्न मुख्य भारतीय अपराधीहरुलाई पक्राउ गनर्् नसकेपछि प्रहरीले कलैयाकै अझै सरार्फ विद्यालयका २ शिक्षकलाई पक्राउ गरी हत्याको आरोप लगाएको छ । उनीहरुको हत्यामा जे जस्तो संलग्नता भए पनि मुख्य अपराधीहरु पक्राउ नपरेका कारण प्रहरी सरार्फको हत्या सवालमा चुकेकै देखिन्छ । यद्यपि अझै हत्याराहरु पक्राउ गरी थप कुरा सार्वजनिक गर्ने अवसर प्रहरीलाई छदैछ ।

















